जनता टाइम्स

२५ आश्विन २०८०, बिहीबार १०:२१

एमाले सुदुरपश्चिमको अध्यक्षमा जैसी, यी हुन पदाधिकारी


धनगढी, असोज २५ । नेकपा एमाले सुदुरपश्चिम प्रदेशको नेतृत्व सर्वसम्मत चयन भएको छ ।

अधिवेशन उदघाटन भएको पाँचौं दिन अध्यक्षका प्रत्यासी भरत साउदले उम्मेद्वारी फिर्ता लिएसँगै अछामका कृष्णप्रसाद जैसी सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । यस्तै सचिवमा रणबहादुर चन्द तथा उपसचिवमा नरबहादुर बिश्वकर्मा र  भागिरथी बिष्ट सर्वसम्मत हुनुभएको छ ।

उपाध्यक्षमा यसअघि नै कालीबहादुर शाही सर्वसम्मत भइसक्नु भएको छ । उपाध्यक्षका उम्मेदवारहरु हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत हुनुभएको हो । नेताहरुको लामो प्रयाशपछि सहमति जुटेको हो । आज उपसचिवमा बिक र बिष्टलाई छाडेसँगै अध्यक्षका प्रत्यासी साउदले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।

यस्तै सचिवका प्रत्यासी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत हुनुभएको हो । उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट र उपसचिव महिलामा कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँहरुको उम्मेदवारी फिर्तापछि बिश्वकर्मा र बिष्ट सर्वसम्मत हुनुभयो ।

अध्यक्षमा सर्वसम्मत हुनुभएका जैसी सुदूरपश्चिममा स्थापित नाम हो। २०५८ सालमा अछाम सदरमुकाम माओवादीले आक्रमण गरेर ध्वस्त पारेपछि उहाँले जिल्ला विकास समितिको सभापतिका हैसियतले थालेको पुर्ननिर्माणको काम गर्नुभएको थियो ।

शिक्षण पेशा छोडेर राजनीतिमा आउनु भएका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ। उहाँले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालिन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओली त्यतिवेला प्ररायुसंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । २०५४ सालको स्थानीय चुनावमा जिविस सभापति हुनुभएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेभिकको सहअध्यक्ष हुनुभएको थियो ।