काठमाडौं, असोज २७ । नेकपा एमालेको समर्थनमा कांग्रेसबाट बिद्रोह गरेका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले अर्काे झेली खेल सुरु गर्नुभएको छ ।
कांग्रेस नेता डा. शेखर कोइरालासँग गठबन्धनप्रति प्रतिवद्ध छु भनेर हस्ताक्षरसहित बिज्ञप्ति सार्वजनिक गरेर अव कोशीमा बिद्रोह गर्ने कांग्रेसका सवै सांसदलाई मन्त्री हुन नदिने योजना बनाउनु भएको हो । कोशी प्रदेशमा नेपाली कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले बिद्रोह गरी केदारको पक्षमा उभिएका थिए ।
संसदीय दलका उपनेता हिमाल कार्कीले पनि पदबाट राजीनामा दिएर केदारकै पक्षमा खुल्नुभएको थियो । यसरी बिद्रोहमा उत्रिएका मुख्यमन्त्रीसहित ९ जनामध्ये एकले पद पाइसकेको भन्दै देउवा र प्रचण्डले अव गठबन्धन जोगाउन यिनीहरुलाई मन्त्री बनाउन हुन्न भन्दै रोकेर आफ्नो पक्षमा पार्ने खेल सुरु गर्नुभएको हो ।
कोशीमा मुख्यमन्त्री कार्कीसहित रामकुमार खत्री, शमशेर राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू, सुनिता गुरुङ र लीलाकुमारी राई उभिनुभएको छ । यस्तै हिमाल कार्की पनि केदारकै पक्षमा खुल्नुभएको थियो ।
आज बिहान शेखरसँगको छलफलअघि देउवा र दाहालबीच अव गठबन्धन कायमै राख्ने बताएर बिद्रोहीलाई मन्त्री बन्न नदिने योजना बनाउनु भएको देउवा निकट एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार मुख्यमन्त्रीलाई साथ दिने कसैलाई मन्त्री बन्न नदिएपछि भविश्यमा यस्तो दुर्घटना नहुने र आफूहरुले जे भन्यो त्यही हुने निचोडका साथ दुवै नेताले सहमति गर्नुभएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष दाहालले कोशीमा मुख्यमन्त्रीका दावेदार इन्द्र आङबोलाई नै मुख्यमन्त्रीपछिको बरियतामा रहने गरी रोजेको मन्त्रालय दिनुपर्ने प्रस्तावसमेत देउवासँग गर्नुभएको छ । सरकारमा एमाले र कांग्रेसमा विद्रोह गरेका सांसद मिलेर सरकार बनेपछि देउवा र दाहालले आज बिहान कांग्रेस नेता शेखर कोइरालासँग छलफल गरी लिखित सहमति गर्नुभएको हो ।
सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशीमा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले कोइरालासँग लिखित सहमति पनि यही योजना लागू गर्न गर्नुभएको स्रोतले बतायो । कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो।

एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समयमै दाबी पेस गर्नुभएको थियो । तर, सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिनु भएको थियो । स–शरिर सांसद उपस्थित भएर सनाखत गरेपछि आज कार्की मुख्यमन्त्री मा नियक्त हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्