काठमाडौं, असोज २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले बिश्वासको मत लिएपछि एमालेलाई हटाउन लगाउने योजना सुनाउनु भएको छ । आज भएको छलफलमा देउवाले यस्तो रणनीति आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रहेको बताउनु भएको हो ।
कोशीमा एमालेलाई सरकारमा राखिराख्दा शेखर कोइराला बलियो हुने केन्द्रको सहमति पनि कायम नहुने भएकोले बुधवार बिश्वासको मत लिएपछि एमालेलाई सरकार बाहिर फालेर सत्ता गठबन्धन कायम राख्नुपर्ने बताउनु भएको हो ।
कांग्रेसले कोशीको मुख्यमन्त्रीमा माओवादीका इन्द्रबहादुर आङ्बोलाई समर्थन गरेपछि डा. शेखर कोइराला पक्षले विद्रोह गरेको थियो । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले पर्सि बुधबार विश्वासको मत लिने निर्णय गर्नुभएको छ ।
तर कार्कीले दलमा छलफल गर्नुभएको छैन । आइतबार शपथसँगै कांग्रेस र एमालेबाट १/१ जना मन्त्री बनाउँदा पनि उहाँले आफ्ना दलका नेताहरुसँग छलफल गर्नुभएन । त्यसैले कार्कीलाई विश्वासको मत दिने वा नदिने निधो माग्दै कांग्रेसको प्रदेश समितिले केन्द्रलाई आइतबार पत्र पठाएको छ ।
नेताहरुका अनुसार संसदीय दलका नेता उद्धव थापा र उपनेता हिमाल कार्कीले राजीनामा दिएका कारण पनि संसदीय दलले निर्णय गर्ने अवस्था छैन । त्यसैले प्रदेश सभापति समेत रहेका थापाले केन्द्रको राय माग्नुभएको हो ।
यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीलाई बोलाउनु भएको थियो । आफ्नै निवास धुम्बाराहीमा भएको छलफलमा सभापति देउवा गठबन्धन कायम राख्नलाई एमालेलाई सत्ता बाहिर पुर्याउनै पर्ने बताउनु भयो ।
बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने कोशीको विशिष्ट अवस्था अनुसार एमालेलाई पनि सरकारमा सहभागी गराउन उपयुक्त हुने राय दिनुभएको छ । बैठकपछि महामन्त्री शर्माले ‘विश्वासको मत दिएर एमालेलाई पनि सरकारमा राख्ने वातावरण बनाउनुपर्दछ’ भन्ने आफूहरुको मत रहेको बताउनु भयो ।
दुई महामन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता डा. शेखर कोइरालाबीच शनिबार भएको सहमतिमा समेत प्रश्न उठाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्