काठमाडौं, ३० असोज। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भन्नुभएको छ । सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गर्नुभयो ।तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गर्नुभएको हो । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो ।
विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।उहाँका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्नुहुन्छ , ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’
गैरआवासीय नागरिकता वितरणले नेपाललाइ खोक्रो बनाउने उहाँको भनाइ छ । उहाँ लेख्नुहुन्छ , ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको वैधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उहाँको भनाइ छ । साहले लेख्नुभएको छ , ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैँछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार ।’













प्रतिक्रिया दिनुहोस्