काठमाडौं, कात्तिक १ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस निकट मानिएका मतदाता तीनतिर बाँडिएका छन ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा एनआरएनएको निर्वाचनमा अध्यक्षका उम्मेदवार बन्नुभएका जापानका ब्यवसायी महेश श्रेष्ठ र महासचिवका उम्मेदवार बुद्धि सागर सुवेदीले मतदाता खरिद गर्न पैसा बाँडेको सूचना पाएपछि कांग्रेस निकट मानिएका एनआरएनए प्रतिनिधिहरु तीन तिर बाँडिएका हुन । एनआरएनए महाधिवेशन स्थल सोल्टी होटलतिर श्रेष्ठ र सुवेदीले निकै ठूलो रकम खर्च गरेर मतदाता प्रभावित पारेको चर्चा चुलिएको हो ।
एनआरएनएको जारी बिश्व सम्मेलनमा बिहीवार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । सो निर्वाचनमा अध्यक्षमा बर्तमान कार्यकारी अध्यक्ष रसियाका डा. बद्रि केसी, अध्यक्ष अमेरिकाकी रबिना थापा पुनः उम्मेदवार बन्नुभएको छ भने उपाध्यक्ष जापानका महेश श्रेष्ठ र कतारका राजेन्द्रकुमार (आरके) शर्मा अध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । चार जनामध्ये केसी, श्रेष्ठ र शर्माले आफ्नो प्यानल नै खडा गर्नुभएको छ भने अमेरिकाकी थापाले कांग्रेस संस्थापनकै एउटा समुहको साथ पाउनु भएको छ ।
सभापति देउवाले श्रेष्ठलाई जसरी पनि उम्मेदवार बनाउनु पर्ने अडान राखेपछि बिदेशमा रहेका कांग्रेस निकट जनसम्पर्क समिति पनि बिभाजित बनेको छ । कांग्रेसको डा. शेखर कोइराला समुहमा आस्था राख्नेहरुले डा. बद्री केसीलाई मतदान गर्ने योजना बनाएका छन । केसीले कुनै दल बिशेषको नभई एनआरएनएमा लामो योगदान गरेका ब्यक्तिलाई आफ्नो टीममा पार्नुभएको छ । कांग्रेस निकट भनेर चिनिएकै अनुहार पनि केसीको टीममा रहेका छन ।
अध्यक्षका उम्मेदवार बद्रि केसीको टीममा उपाध्यक्षमा रामशरण सिम्खडा, डा. हेमराज शर्मा, डा. बिनोद श्रेष्ठ, चिरञ्जिीवी घिमिरे, रोबिन शेरचन र महिला उपाध्यक्षमा यासमीन बेगम सैयद हुनुहुन्छ । यस्तै युथ भाइस प्रेसिडेन्ट (युवा उपाध्यक्ष) मा रोशन थापा र महासचिवमा गौरीराज जोशी उम्मेदवार हुनुहुन्छ । यस्तै उपमहासचिवमा शन्तोषकुमार भट्टराई, प्रमोद सिटौला, सचिवमा राजेन्द्र पुडासैनी, नवराज रोस्यारा, डा. ज्ञानेन्द्र रेग्मी, यज्ञराज सुवेदी, प्रकाश सापकोटा र महिला सचिवमा राधिका गुरुङ (टीका) उम्मेदवार बन्नुभएको छ ।
डा. बद्रिको टीमबाट कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत, ददीवल खडक र सीपी पौडेल तथा महिला सहकोषाध्यक्षमा अमृता थापा (कञ्चन) उम्मेदवार बन्नुभएको छ । यस्तै महिला संयोजकमा अनुजा प्रधान, युवा संयोजक पदमा सुपेन्द्र घिसिङ उम्मेदवार रहनुभएको छ । यी अनुहार कुनै एउटा राजनीतिक दलसँग आस्था राख्ने छैनन । सवै दलसँग आवद्ध रहेका र एनआरएनए बुझेकाहरुलाई केसीले प्राथमिकता दिनुभएको हो ।
राजनीतिक दलको आधारमा होइन, एनआरएनएलाई बिदेशमा रहेका सवै नेपालीको अभिभावकत्व संस्था बनाउने र बिदेशमा सिकेको श्रम र सिप अनि आर्जन गरेको सम्पति नेपालको समृद्धिमा लगाउने योजनासहित केसीले बिचारदेखि सवै हिसावमा समावेशी टीम बनाउनु भएको छ । केसीको टीमलाई एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) ले समर्थन गरेको छ ।
केसीको टीम प्रवासमा रहेका नेपालीको समस्या बुझेको र एनआरएनएमा लामो अनुभव भएको कारण समर्थन गरेको ओएनएफ अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले बताउनु भयो ।
‘बद्रि केसीको टीम राजनीतिभन्दा माथि देखियो, प्रवासी नेपालीको पीडा बुझ्ने अनुहार पनि केसीकै टीममा देखिएकोले ओएनएफले समर्थन गरेको हो,’ अध्यक्ष थापाले जनताटाइम्स डटकमसँग भन्नुभयो । उहाँले आफूहरुले निर्णय गरेर नै केसीको टीमलाई जिताउने अभियानमा लागेको जानकारी दिनुभयो । केसीको टीमलाई ओएनएफसहित कांग्रेस निकट जनसम्पर्क समितिका आधा सदस्यहरुले समर्थन गरेको देखिएको छ ।
यता कांग्रेस संस्थापनबाटै बिद्रोह गरेर अध्यक्षमा उम्मेदवारी दिनुभएका बर्तमान अध्यक्ष रबिना थापाले पनि महेशकै मत खोस्ने पक्का देखिएको छ । महाधिवेशन स्थल सोल्टी होटलमा केही दिनको अनुगमनपछि कांग्रेस निटक प्रतिनिधि महेशभन्दा रबिना, बद्रि र आरके शर्मातिर आकर्षित हुन थालेको देखिएको छ । खासगरी महेशले आर्थिक चलखेल गरेको कारण आफूहरु एनआरएनएलाई धनाढ्यहरुको क्लव बनाउने पक्षमा नरहेको भन्दै महेशकै समर्थक पनि अन्यत्र मोडिएका हुन ।
प्यानलसहित उम्मेदवारी दिनुभएका महेशको टीममा कांग्रेसको संस्थापन समुह मात्रै रहेको छ भने अर्का उम्मेदवार आरके शर्माले नेकपा माओवादी निकटलाई आफ्नो टीममा राख्नुभएको छ । मुख्यरुपमा त्रीपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको यस निर्वाचनमा आर्थिक चलखेलको जानकारी पाएपछि प्रतिनिधि चिढिएका छन ।
‘पैसा दिएर भोट किन्न थालेपछि हामी पैसा नलिनेले किन भोट दिने ? हामी दिन्नौं, अव मन बदलिएको छ,’ महेश र सुवेदीकै समर्थन गर्दै नेपाल आएका अमेरिकाका एक प्रतिनिधिले भने । उनले पार्टी होइन, प्रवासमा रहेका नेपालीको हित हेर्नेलाई मतदान गर्ने टुंगोमा पुगको जानकारी पनि दिए ।
प्रतिक्रिया दिनुहोस्