जनता टाइम्स

१ कार्तिक २०८०, बुधबार १७:२०

यूएईमाथि नेपालको सहज जीत, कप्तान रोहितको अर्धशतक


काठमाडौं, कात्तिक १ । संयुक्त अरव इमिरेटस (यूएई) लाई ७ विकेटले पराजित गर्दै नेपाल ट्वान्टी–२० आई अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ । आजको खेलमा कुल १ सय ४१ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा पूरा गर्दै जीत निकालेको हो ।

कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा अविजित ९३ रनको साझेदारी गरि नेपाललाई जित दिलाए । कप्तान रोहित पौडेल ५१ र र दीपेन्द्रसिंह ऐरी ३४ रन बनाई अविजित रहे । रोहितले पछिल्ला चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक बनाए । रोहितले ४० बल खेली ५ चौका तथा दीपेन्द्रले २३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै कुशल भुर्तेल १४ बलमा १४ रन बनाई आउट भए । दुर्भाग्यपूर्ण रनआउट भएका कुशल मल्लले ९ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए । ओपनर आसिफ शेख २७ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए । यूएईका निलान्श केसवानी र अली नासिरले १–१ विकेट लिए । यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४० रन बनाएको थियो ।

यस्तै सोमपाल कामीले खेलको पहिलो ओभरमै ‘डेब्यु’ गरिहेका खालिद शाहलाई शुन्यमा आउट गराए । अलिशन सराफु पनि ६ रन बनाई करण केसीको बलमा आउट भए । कप्तान मोहम्मद वासिमलाई गुल्शन झाले आउट गरे । वासिमले १८ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै १७ रन बनाए । गुल्शनले आसिफ खानलाई आउट गरी नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए । आसिफले १२ बल खेली २ चौका प्रहार गर्दै १५ रन बनाए ।

अलि नासिर र बसिल हमिदले पाँचौं विकेटमा ५६ रनको साझेदारी गरे । नासिरले ३० बल खेली ३ चौका र १ छक्कासहित ३२ रन बनाए । उनी करणको दोस्रो शिकार बने । हमिदले ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा कुल ३८ बल खेली १ चौका र ४ छक्का प्रहार गरि ५१ रन बनाए ।

नेपालबाट करणले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रनमात्र खर्चे । गुल्शनले ३ ओभरमा ११ रन खर्चेर २ र सोमपाल कामीले १ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिनेक्रममा ४ ओभरमा ३८ रन खर्चे । नेपालले श्याम (मौसम) ढकाललाई ‘डेब्यु’ गराएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल्ने नेपालका ४४ औं खेलाडी बनेका श्यामले २ ओभरमा १४ रन खर्चे ।