काठमाडौं, कात्तिक २ । नेकपा एमालेले कारबाहीमा परेका नेता–कार्यकर्ताप्रति नेकपा एमाले उदार बन्ने नीति लिएको छ ।
हालै सम्पन्न एमाले संगठन विभागको बैठकले सम्बन्धित पार्टी कमिटीको कारबाहीमा परेका तर कमजोरी स्वीकार गर्दै लिखित आत्मालोचना गरे उपयुक्त जिम्मेवारी दिने निर्णय गर्दै कार्वाहीमा परेकाप्रति उदार नीति लिएको हो ।
एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार बिगतमा भएको कमी कमजोरीप्रति आत्मआलोचला गर्नेलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । ‘विभिन्न कारणले सम्बन्धित कमिटीको कारबाहीमा परेका तर आफ्नो कमजोरी आत्मसात गरी लिखित आत्मालोचना गरेका र व्यवहारबाट विश्वास जितेका कमरेडहरूलाई उपयुक्त जिम्मेवारी दिएर परिचालन गर्न निर्देशन गर्ने निर्णय भएको छ,’ प्रमुख अधिकारीले भन्नुभयो ।
आत्मालोचना गर्नेलाई पार्टीले पुनः अवसर दिन्छ भन्ने सन्देश दिनका लागि यस्तो निर्णय गरिएको अधिकारीको भनाई छ । गत २०७९ को निर्वाचनमा अन्तर्घात गर्ने तथा बागी–विद्रोही उम्मेदवारी दिनेलाई एमालेले कारबाही गरेको थियो ।
बैठकले एक ठाउँबाट अर्को ठाउँमा पार्टी सदस्यता स्थानान्तरण गर्ने बाटो पनि खुला गरेको छ । गत साउनदेखि एमालेमा सदस्यता स्थानान्तरण कार्यक्रम बन्द गरिएको थियो । अव भने स्थानान्तरण गर्ने बाटो खुलेको छ । ‘कुनै पनि सदस्यले आफ्नो सदस्यता स्थानान्तरण गर्न चाहे सम्बन्धित जिल्लाको अधिवेशन मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न सक्ने निर्णय बैठकले गरेको छ ।
एमालेको पछिल्लो तथ्याङ्क अनुसार हाल साढे पाँच लाख प्रमाणित पार्टी सदस्य छन । आगामी १ वर्षमा साढे सात लाख कार्यकर्ता पुग्ने अपेक्षा गरिएको छ । संगठन बिभागका सचिव माधव ढुंगेलका अनुसार २०८० मा पाँच लाख सदस्यता बनाउने टार्गेट थियो । त्यो पूरा भएको छ ।
असोज महिनामा प्रदेश अधिवेशन सम्पन्न गरेको एमालेले जिल्ला र पालिका तहका पार्टी अधिवेशनलाई पनि प्राथमिकतामा राखेको छ । एमालेले आगामी माघसम्म जिल्ला र पालिका अधिवेशन सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन र २०८० चैतमा सदस्यता नवीकरण अभियान सँगसँगै वडा तथा टोल तहका पार्टी अधिवेशन सम्पन्न गर्नेगरी का अघि बढाउन मातहतका पार्टी कमिटीलाई निर्देशन पनि दिएको छ ।
केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गरिएका नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यहरूले मात्र स्थानीय पार्टी अधिवेशनमा सहभागी हुन पाउने छन ।
प्रतिक्रिया दिनुहोस्