जनता टाइम्स

३ कार्तिक २०८०, शुक्रबार १५:३०

धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट युवकको मृत्यु


काठमाडौं,  कातिक ३ ।  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बाँस्तोलाले चलाएको बा९च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशामा रहेको रा६प ५७३८ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै गएराति १० बजेतिर ठक्कर दिएको थियो ।

दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार गाडीको ठक्करबाट दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते चौधरीलाई प्रहरीले उद्धार गरी अस्पताल लगेकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । प्रहरीले बाँस्तोलालाई नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भालुवाङमा राखेर अनुसन्धान अअघि बढाइएको एसपी केसीले बताए ।