जनता टाइम्स

३ कार्तिक २०८०, शुक्रबार १६:०८

अध्यक्षमा पराजीत भएपछि आरके शर्माको अडान : निर्वाचन परिणाम स्वकार्दिन, एनआरएनएलाई सरकारले नियन्त्रणमा लिनुपर्छ


काठमाडौं, कात्तिक ३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचनमा अध्यक्षमा पराजीत राजेन्द्रकुमार (आरके) शर्माले निर्वाचन परिणाम अस्वीकार गर्दै सवै काम कार्वाही नियन्त्रणमा लिन सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार भएको निर्वाचनमा शर्मा रसियाका डा. बद्रि केसीसँग ९७ मतले पराजीत हुनुभएपछि धाँधली गरेर हराइएको भन्दै परिणाम अस्वीकार गर्ने घोषणा गर्नुभएको हो । केसीसँग शर्मासहित जापानका महेश श्रेष्ठ ले चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो । अनलाइन भोटिङमार्फत गरिएको निर्वाचनमा दुवै जनाले धाँधली गरेर हराइएको आरोप लगाउनु भएका छ । तर निर्वाचन समितिले केसीसहित बिजयी पदाधिकारी र सदस्यको नाम सार्वजनिक गरिसकेको छ ।

मत परिणाम सार्वजनिक गर्दा नेपालबाट उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेललाइृ एक मत पनि नआएको भनाई सार्वजनिक भएपछि मतदान प्रक्रिया नै अमान्य भन्दै अध्यक्षका प्रत्यासी शर्मा र श्रेष्ठले नारावाजी गर्न लगाउनु भएको थियो । तर नेपालमा पौडेलको नाम कम्युटरमा भेरिफिकेशन गरिएभन्दा फरक स्पेलिङ राखिएकोले नदेखाएको तथ्य बाहिर आइसकेको छ । तर पनि शर्माले परिणाम नमान्ने भन्दै बिज्ञप्ती जारी गर्नुभएको छ ।

‘नेपालीका लागि नेपाली भन्ने मूल उदेश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको २०२३–२०२५ कार्यकालका लागि १९ अक्टोबर २०२३ का दिन सम्पन्न निर्वाचन प्रक्रियामा प्रयोग गरिएको अनलाईन प्रणालीको चरम दुरुपयोग गरी धाँधलीपूर्ण रूपमा सार्वजनिक गरिएको निर्वाचन मत परिणामलाई पूर्ण रूपमा अस्वीकार गरि हामीलाई अमान्य रहेको स्पष्ट पार्न चाहन्छौं,’ शर्माले भन्नुभएको छ ।

उहाँले अव सरकारले नियन्त्रणमा लिएर एनआरएनए चलाउनु पर्ने माग पनि गर्नुभएको छ । ‘एनआरएनएको दशौ महाधिवेशनबाट भाँचिएको गैर आवासीय नेपालीहरूको मनलाई जोड़नका लागि हामीले गरेको भगीरथ प्रयासलाई टुङ्गोमा पुग्न नदिएर फुटको अवस्थामा रमाउन चाहने गिरोहको नेतृत्वले बिहिबार सम्पन्न निर्वाचनलाई धाँधलीपूर्ण बनाएको तथ्य सार्वजनिक मत परिणामले स्पष्ट नै पारेको तथ्य कतै लुकेको छैन,’ बिज्ञप्तीमा भनिएको छ ।

शर्माले थप भन्नुभएको छ, ‘एनआरएनए गैर आवासीय नेपालीहरूको हक हितका निम्ति संचालित एक पवित्र अभियान हो । यो संस्था आफैमा एक खराब रहेको छैन र रहने पनि छैन । तर संस्थालाई उपयोग गरेर धमिलो पानीमा माछा मार्ने प्रवृति भएका स्वार्थपूर्तिका खातिर यस संस्थालाई उपयोग गरिरहेका हरूले सम्पन्न निर्वाचनलाई प्रयोग गरिएको प्रणालीको चरम दुरुपयोग, संघको कार्यकारी पदमा रहेकाले अख्तियारको दुरुपयोग गरेर पूर्ण त धाँधली गरेकोले यसको निष्पक्ष छानबिन गरि सत्य तथ्य पत्ता लगाई दोषी उपर कार्यवाही र पुनरनिर्वाचन गराउने प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित निकायसंग जोड़दार माग गर्दछु ।’

उहाँले अनलाइन भोटिङको बिषयमा बिगतमा आफूले असहमति जनाएको समेत जिकिर गर्नुभएको छ । ‘एनआरएनए निर्वाचनको लागि प्रयोग गरिने अनलाइन भोटिङ प्रणालीका बारेमा अन्तराष्ट्रिय समन्वय परिषद्को बैठकमा पटक पटक कुरा उठाएको र वैकल्पिक अनलाइन भोटिङ प्रणालीको समेत व्यवस्थाका लागि मैले उठाएको एजेण्डालाई वेवस्ता गर्दाको परिणाम सम्पन्न निर्वाचनमा हामी भोग्न पुगेको निष्कर्ष मेरो छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘एनआरएनएको नियमक निकाय नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई अब एनआरएनएका सम्पूर्ण काम कारवाही आफनो नियन्त्रणमा लिएर यसलाई सहि गतिमा संघले राखेको लक्ष्य उद्देश्य प्राप्तिका निम्ति अघि बढ़ाई अविभावकत्व प्रदान गरिदिनु हुन समेत माग गर्दछु ।’