जनता टाइम्स

१४ कार्तिक २०८०, मंगलवार ११:५६

जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपाललाई सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता


पोखरा, कात्तिक १४ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज बिहान अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटरेसले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको बताउनुभयो ।

जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको भूमिका नभएको उहाँले उल्लेख गर्नुभयो । विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको बताउँदै उहाँले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्याइरहेको बताउनुभयो ।

धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उहाँले नेपालमा परिहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटेरेसलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसी, छोम्रोङ पर्यटन समितिका पदाधिकारी तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गर्नुभएको थियो । महासचिव गुटेरेस भ्रमण दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहित आधार शिवर पुग्नुभएको थियो ।