जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १८:१८

भारतीले तोडिन् अनसन


काठमाडौं, १६ असोज । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको आममाफि सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनसन तोड्नुभएको छ । सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनसन बसेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनसन तोड्नुभएको हो । माइतीघरमा अनसनरत उहाँ सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुग्नुभएको थियो ।

सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको भन्दै उहाँले सर्वोच्चलाई ढोग्नुभयो । अनसनका कारण अस्वस्थ उहाँलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उहाँले वीर अस्पतालमै अनसन तोड्नुभएको हो । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गर्नुभएको थियो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले आज रिगलको कैदमाफी बदर गरिदिएको हो । रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले कैद सजाय मिनाहा बदर गरे लगत्तै ढकाललाई बाँके प्रहरीले पक्राउसमेत गरिसकेको छ । नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले अदालतको आदेश अनुसार रिगललाई पक्राउ गरिएको हो ।