जनता टाइम्स

२१ कार्तिक २०८०, मंगलवार १८:२८

भूकम्पपीडितको बास हटाएर राष्ट्रपतिको हेलिकोप्टर राखेपछि भेरी नगरप्रमुखको आक्रोश : हेलिकोप्टर आतंंक बन्द गर


जाजरकोट, कात्तिक २१ । भूकम्पबाट पीडित भेरी नगरपालिकाका प्रमुख सिपी घर्ती मगरले आफ्नो नगरभित्र पीडितलाई नै पीडा दिने गरी भइरहेको हेलिकोप्टर आतंक बन्द गर्न सार्वजनिक सूचना जारी गर्नुभएको छ ।

भूकम्पपीडितको बास हटाएर राष्ट्रपति रामचन्द्र पौडेल सवार हेलिकोप्टर अवतरण गरेपछि प्रमुख घर्तीले यस्तो आक्रोश पोख्नुभएको हो । राष्ट्रपति पौडेलको आजको जाजरकोट भ्रमणको क्रममा हेलिकोप्टर अवतरण गर्न भूकम्पपीडित राखिएको चौरको सवै टेन्ट हटाइएको थियो ।यो घटनाले पीडित थप पीडामा परेको प्रमुख घर्तीले बताउनु भयो ।

प्रमुख घर्तीले भन्नुभएको छ, ‘बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर। सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज ।’

प्रमुख घर्तीले आफ्नो नगरपालिकाका हेलिकोप्टर आतंक नभई कम्तीमा ५ हजार त्रिपाल चाहिएको भन्दै सवैसँग अपिल पनि गर्नुभएको छ । प्रमुख घर्ती शुक्रवार मध्यराती गएको भूकम्पलगत्तैबाट निरन्तर पीडितको सहयोगमा खटनु भएको छ ।