जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार ०९:५५

इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमको फैसला हुँदै : छुट्ने भन्दै पटाका पड्काएर खुसियाली मनाउँदै समर्थक


रौतहट, कात्तिक २२ । इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ । आजसम्म बहस सकेर भोलि बिहीवार फैसला सुनाउने तयारीमा जिल्ला अदालत रौतहट रहेको छ ।

जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ । आलम पक्षका वकिलको बहस पनि मंगलबार नै सकिएको छ । बाँकी केही वकिलको बहस आजर सकिने र त्यसलगत्तै मुद्दाको फैसला हुने जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले बताउनु भयो ।

सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्कीले मुद्दाको पक्षबाट बहसको नेतृत्व गर्नुभएको थियो । मुद्दामा स्वतन्त्र अधिवक्ता पुष्प पौडेलले पनि बहस गर्नुभएको छ । उहाँले आज बहस गने कार्यसूची छ । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको बहस भइरहेको छ । यता आलमका समर्थकले न्यायाधीशसँग सेटिङ मिलाएको र जेलमुक्त हुने भन्दै आलमको रौतहट राजपुर नपा– ४ फरहदवास्थित गाउँमा पटका पड्काएर खुसियाली मनाइरहेको मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुबा नारायणसिंह राजपुतले बताउनु भएको छ ।

जोरजाम गरिएका स्थानीय र बिहारबाट ल्याइएका युवाको सहयोगमा २७ चैत ०६४ को साँझ गोठमा बम बन्दै थियो । त्यही वेला अचानक बम विस्फोट हुन पुग्यो । केही युवा घटनास्थलमै ढले । घाइतेहरू ज्यान बचाउन भाग्न थाले । घटना बाहिरिने डरले आलमका सहयोगीले घाइते खोजी–खोजी समातेर अचेत हुने इन्जेक्सन दिई जिउँदै इटाभटटामा जलाएको आरोप छ ।

अनुसन्धान रिपोर्टअनुसार अचेत भएपछि बोरामा प्याक गरी एक–एक गर्दै सबैलाई ट्रयाक्टरमा लोड गरे । सशस्त्र प्रहरीको स्कर्टिङ गाडीसँगै ट्रयाक्टरलाई आफ्ताबका भाइ महताबले सञ्चालन गरेको इटाँभट्टा लगियो । बोरामा प्याक घाइतेलाई तातो भट्टीमा हालियो । घाइतेमध्ये केहीका शरीर भट्टीमा छिरेन । उनीहरूलाई बन्चरोले गिँडियो । टुक्रा गरी पुनः भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नस्ट गरियो ।

बम विस्फोटको १२ वर्षपछि रौतहट प्रहरीले घटनालाई नयाँ ढंगले अनुसन्धान गरेपछि आलम पक्राउ परे । २६ असोज ०७६ मा आलम पक्राउ परे । जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन । उनका भाइ महताब आलम पनि अहिले पुर्पक्षका लागि रौतहट कारागारमा छन ।