जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार ०८:०८

राहतमा पनि जनार्दन शर्माको पक्षपात, जाजरकोट पठाइएको राहत बाटोबाटै हाइज्याक


जाजरकोट, कात्तिक २३ । शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक पूर्वमन्त्री जनार्दन शर्माले बाटोबाटै हाइज्याक गर्नुभएको छ । सल्यानको सल्लीबजारबाट शर्माले ट्रक हाइज्याक गर्नुभएको हो ।

प्रहरीका अनुसार सल्यानको सल्लीबजारबाट गायब भएको सामान खोजबिन हुँदै गर्दा बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि शर्माले ट्रक हाइज्याक गरेको तथ्य खुलेको हो । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको हो ।

भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘हाइज्याक’ गरेर रुकुम पश्चिमतिर लगिएको बताउनु भयो । उहाँका अनुसार राहत वितरणमा सत्ताको दुरुपयोग भइरहेको छ । पीडितलाई आवश्यकताका आधारमा होइन, आफ्नो मतदाता पहिचान गर्दै राहत वितरण भइरहेको छ ।

बुधबार पनि जाजरकोटका लागि ‘गिफ्ट एसिया’ लगायतका संस्थाले पठाएको एक ट्रक खाद्यान्न रुकुम पश्चिमतर्फ मोडिएको छ । यता भूकम्प गएको ६ दिन पुग्दासम्म जाजरकोटको खुल्चाउली, कड्के, टट्टा, करुवा, कुशेको समाइला धन्नासीलगायत प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामान पुगेका छैनन  । जस्को कारण पीडित बारीमा कठ्यांग्रिएर रात बिताउन बाध्य छन ।

१३ वडा रहेको भेरीमा ३५ सय ३४ घरधुरीका १४ हजार ९ सय ९७ जना विस्थापित छन । तर, अहिलेसम्म २८ सय ५५ त्रिपाल र ३९ सय ३० ब्ल्यांकेट उपलब्ध गराइएको छ । जाजरकोटमा राहतका सामग्री बोकेर दैनिक ५० भन्दा बढी सवारीसाधन पुग्ने गरेको जिल्ला ट्राफिक प्रहरीको रेकर्डमा देखिए पनि खलंगाको त्रिभुवन माविमा राखिएको विपद् व्यवस्थापन समितिको गोदाममा पीडितलाई अति आवश्यक पर्ने अधिकांश राहत सामग्रीको

‘स्टक शून्य’ छ । सरकारी निर्णयअनुसार जिल्ला विपद् व्यवस्थापन समितिहरूले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने मापदण्ड बनेको छ । तर, सार्वजनिक योगदानबाट संकलित राहत माओवादी नेता शर्माले राजनीतिक आस्था र पहुँचका आधारमा वितरण गरिरहेका छन ।

भूकम्पको केन्द्रबिन्दु बारेकोटका अध्यक्ष वीरबहादुर गिरीले जाजरकोटका प्रभावित गाउँमा अझै राहत नपुगेको बताउनु भएको छ । ४३ सय घर प्रभावित भएको बारेकोटमा अहिलेसम्म ३ सय ८० ब्ल्यांकेट र ३ सय त्रिपाल मात्र पुगेका छन ।

जाजरकोटमा भूकम्पबाट ३४ हजार ५ सय १ घरधुरीका एक लाख ७९ हजार ८ सय ९३ जना प्रभावित भएका छन । जिल्लाका ७ स्थानीय तहका ९ हजार ९ सय ७४ घर पूर्ण रूपमा भत्किएका छन । २४ हजार ७ सय ७ घरमा आंशिक क्षति पुगेको छ ।