धनगढी, २३ कार्तिक । कैलाली प्रहरीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार प्रहरीको थुनामा रहेका कृष्ण सेट्टीको मृत्यु भएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।
आज प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो । प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण खुलेको छैन । दाइ गणेश सेट्टीले बुधबार साँझ कृष्णको स्वास्थ्य राम्रो रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता चन्दका अनुसार सोमबार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका थिए । जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो । थापाको हत्या भएपछि मङ्गलबार जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक चन्दसहितको प्रहरी टोली घटनास्थल गएको थियो ।













प्रतिक्रिया दिनुहोस्