जनता टाइम्स

२५ कार्तिक २०८०, शनिबार १५:२७

कलाकार दुलालले गरे २०औं काग सम्मेलन, रत्नपार्कका आकासमा देखिए सयौं काग


काठमाडौं, कात्तिक २५ । विगत १९ वर्षदेखि काग तिहारको दिन प्रत्येक वर्ष काग सम्मेलन गर्दै आउनु भएका कलाकार रमेश दुलाल (कागदाई) ले यसपटक पनि काग तिहारको अवसरमा २० औं काग सम्मेलन गर्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदसीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक सुरु भएसँगै पहिलो दिन काग तिहारको अवसरमा दुलालले २०औं काग सम्मेलन गर्नुभएको हो । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार दुलालले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गर्नुभयो ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहानकरिब ४० मिनेटसम्म उहाँले कागलाई बोलाउनु भएको थियो । उहाँको बोलावटमा सयौं काग एकै ठाउँमा झुम्मिएका थिए । ‘मैले विगत १९ बर्षदेखि यसरी नै बिभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको छु । बिशेषगरी तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने मेरो चाहाना हो,’ दुलालले भन्नुभयो, ‘यो रत्नपार्क क्षेत्रमा पहिलेका बर्षहरुमा जस्तो कागको संख्या छैन । यो ठाउँमा सुरुसुरुमा निकै काग हुने गर्थे, अहिले कमी आएको छ ।’

दुलालले काग सम्मेलन पहिलो बर्ष पश्चिम धनगढीबाट सुरु गर्नुभएको थियो । दाङ र ईलाममा केहि बर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालेको उहाँले बताउनु भयो । आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक बर्ष कागतिहार दिन काग जम्मा पार्ने गरेको उहाँको भनाई छ । उहाँ अघि भन्छन, ‘कागको शुभ र अशभखबर हुन्छ । कागलाई शुभखबरले बोलाउँदा आउँदैन र अशुभखबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनु पर्छ ।’

यस बर्षको काग सम्मेलनमा पहिलेको जस्तो कागको संख्या कम हुँदै गएको उहाँले बताउनु भयो । सो अवसरमा राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालले विगतमा भन्दा आउँदा वर्षहरुमा कागको संख्या कमी हुँदै गएको बताउनु भयो ।

दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्नु हुन्छ । यस्तै गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आउनु भएको छ । काग तिहारको दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा रहेको छ ।

यसबर्ष ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामले कार्यक्रमको सहआयोजना गरेको छ । साथै एसियामा गजल रेष्टुरेन्टको मुख्य प्रायोजन, ओशियन ब्राइट, शान्तितथा ग्रामिण विकास केन्द्र (सिपाई), टप राजधानी रोधी क्लब, ओम तन्दुरी र होराईजन स्पाको सह प्रायोजन रहेको आयोजकले जनाएको छ ।