जनता टाइम्स

२८ कार्तिक २०८०, मंगलवार ०९:२७

मध्यपहाडी लोकमार्ग अभियान सफल पार्न जुट्यो दैलेख एमाले


दैलेख, कात्तिक २८ । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गमा संकल्प यात्रा अभियानलाई सफल पार्न दैलेख एमाले पनि अभियानमा होमिएको छ ।

अभियानको यात्रा दैलेखको १ सय २५ किलोमिटर पर्ने भएपछि दैलेख एमालेले तयारी भव्य बनाउने अभियान सुरु गरेको छ । नेकपा एमाले जिल्ला कमिटी दैलेखको सचिवालय बैठकलाई निर्देशन दिँदै एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेलले दैलेखको पूर्वी खण्ड भगवतीमाईदेखि सुरु भई दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, ठाँटीकाँध गाउँपालिका र अछामसम्म सीमा जोडिएको पश्चिम खण्ड आठवीस नगरपालिका क्षेत्रका सबै नेता तथा कार्यकर्ताहरुको प्रभावकारी परिचालन गर्ने गरी जिल्ला कमिटीबाट काम सुरु गर्न आग्रह गर्नुभयो ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटबाट यात्राको सुरुवात गर्ने कार्यक्रम तय भएको छ । यात्राकै क्रममा दैलेखमा एक दिन टोलीलाई बास बसाल्ने र यहाँका धार्मिक ऐतिहासिक तथा अन्य सम्भावनाको बारेमा पनि टोलीलाई जानकारी तयारी थालिएको नेकपा एमाले दैलेखका कार्यवाहक अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभएको छ ।

एमाले सचिवालय बैठकले वडा कमिटी सम्मतत्कालै बैठक सम्पन्न गर्ने, सबै जनवर्गीय सङ्गठनका बैठकहरू सञ्चालन मिति तोकिएको छ । अभियानको क्रममा उलेख्य सहभागिता लगायतका अन्य कामहरूको बारेमा जिल्ला कमिटीले मातहतका पालिका कमिटीहरू वडा कमिटीलाई निर्देशन दिएको बुढाले जानकारी दिनुभयो ।

बैठकमा स्थायी कमिटी सदस्य यामलाल कँडेल, केन्द्रीय सदस्यहरू लक्ष्मी पोखरेल, राजबहादुर बुढा, मिनासिंह रखाल, कर्णाली प्रदेश कमिटीका उपसचिव रबिन्द्रराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।