जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १३:३४

एमाले केन्द्रीय कमिटी बैठक सुरु, झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि यात्रादेखि यस्ता छन तीन मुख्य एजेण्डा


काठमाडौं, मंसिर ६ । नेकपा एमालेको केन्द्रीय कमिटीको छैटौं बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कुनै पनि छिमेकीसँग झगडा गर्ने सोचमा नरहेको प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले छिमेकीसँग आत्मसमर्पण गरेर सम्बन्ध सुधार नहुने पनि बताउनुभयो । आफ्ना कुरा खुल्ला रूपमा राखेर मात्र छिमेकीसँगको सम्बन्ध सुमधुर हुने अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

‘हाम्रा छिमेकीसँगको वैमनुष्यता हाम्रो देशको हितमा छैन, हामी हाम्रा छिमेकीसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौँ’, उहाँले भन्नुभयो । अहिले देशको स्वाधीनता अपहेलित, अपमानित र तिरस्कृत भएको ओलीले बताउनुभयो । अढाई वर्षको बिचमा यो परिस्थिति निर्माण भएको ओलीको भनाइ छ । यस अवधिमा राष्ट्रिय गौरव, हित र सम्मान ओझेलमा परेको बताउनुभयो । गठबन्धन सरकार राष्ट्रिय हितको रक्षामा होइन सत्ताको रक्षमा केन्द्रित भएको उहाँको भनाइ छ ।

ओलीले देशमा जसरी द्वन्द्वको समाधान हुनु पर्थ्यो, सोअनुसार हुन नसकेको बताउनुभयो । अनुचित कुराले बढी स्थान पाउँदा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसकेको ओलीको भनाइ छ । आमजनतासँग भेटघाट र जनतालाई सचेत गराउन एमाले मध्यपहाडी पुष्पलाल मार्ग सचेतना अभियान ’जनतालाई अहिलको अवस्थाबारे स्पष्ट जानकारी गराउन ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गर्न लागेको ओलीले बताउनुभयो ।

त्यस्तै मध्यपहाडमा भएको विकासको अवलोकन गर्न पलायन भएको युवा शक्तिलाई गाउँमा नै बस्न उत्प्रेरित गर्न सो अभियानले सहयोग गर्ने ओलीले विश्वास व्यक्त गर्नुभयो । यसको साथै त्यहाँका स्रोत, साधनको अवस्था, पर्यटकीय सम्भावना लगायतको अवलोकन पनि सो यात्राका क्रममा हुने ओलीले बताउनुभयो ।