जनता टाइम्स

६ मंसिर २०८०, बुधबार १४:१३

केपी ओली कप टी–२० क्रिकेटमा १२ टिम, यस्तो छ खेल तालिका


पोखरा, मंसिर ६ । पोखरामा मंसिर ७ गतेबाट सुरु हुने प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उदघाटन ऐकडेमीका संरक्षक एवं परिकल्पनाकार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।

मङ्सिर १५ गतेसम्म पोखरा रंगशालमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहने छ ।

समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बि’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सि’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन्।

उपाधि विजेताले पुरस्कार नगद रु ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु २ लाख पचास हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयाँ, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्नेछन । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनु भयो ।

एकेडेमीले अनुसाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिस्पर्धाहरु आयोजना गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । एकेडेमीका उपमहासचिव सूवर्ण श्रेष्ठका अनुसार यस प्रतियोगिताले खेल पर्यटनमार्फत यस क्षेत्रको खेल विकास संगै आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण हुनेछ ।

पत्रकार सम्मेलनमा एकेडेमीका उपाध्यक्ष राजेशकुमार गुरुङ, उपमहासचिव श्रेष्ठ, एकेडेमीअन्तर्गत गठित क्रिकेट विभाग प्रमुख एवं पूर्व क्रिकेटर शक्ति गौचनले समेत आफ्ना भनाई राख्दै प्रतियोगितालाई सफल बनाउन सबैसंग आग्रह गर्नुभयो ।