काठमाडौं, मंसिर ७ । त्रिभुवन बिश्वबिद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुलाई अदालतले दोषी ठहर गरेको छ । चलाउनेबिरुद्ध आक्रमण गरेपछि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका हुन ।
उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर भएका हुन् ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए । यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबार फैसला सुनुवाइ सुरु भएको थियो । दिनभरि दुवैतर्फका वकिलहरुको बहस सुनेपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।
जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ सकिएर आज फैसला आएको हो । आफूमाथि आक्रामण भएको केही दिनमा नै चलाउनेले ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्