जनता टाइम्स

८ मंसिर २०८०, शुक्रबार १७:०२

भूकम्पको इपिसेन्टर बारेकोटमा एमाले स्वयंसेवकले सुरु गरे भग्नावशेष हटाएर अस्थायी आवास निर्माण


जाजरकोट, मंसिर ८ । जाजरकोट भूकम्पको ’ईपिसेन्टर’ बारेकोटमा नेकपा एमालेका स्वयंसेवक टोलीले पुनःस्थापना र नवनिर्माणको काम सुरु गरेको छ ।

भूकम्पको इपिसेन्टर बारेकोटको रामिडाडाबाट आजदेखि भूकम्पले भत्किएका घरहरुको भग्नावशेष हटाउने र नयाँ टहरा बनाउने काम सुरु गरेको हो । गाउँ कमिटीका अध्यक्ष भक्तबहादुर बस्नेत नेतृत्वमा पार्टीको स्थानीय समुहले आजैदेखि काम सुरु गरेको छ भने राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको स्वयंसेवक टिम आज त्यहाँ पुग्ने प्रभावित क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।

नेता आचार्यका अनुसार एमालेले प्रभावित क्षेत्रमा खटाएका ११ सय स्वयंसेवकहरुले जाजरकोटको भेरी, नलगाड, कुशे र बारेकोट तथा रुकुम पश्चिमका आठबिसकोट, चौरजहारी र सानीभेरीका अति जोखिमका बस्तीहरुमा पुनःस्थापना र पुनर्निर्माणका काम गरिरहेका छन ।

प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवकहरुको व्यवस्थापन तथा परिचालनको नेतृत्व केन्द्रीय सदस्य आचार्य र पार्टीको केन्द्रीय विपद व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले गरिरहनु भएको छ । आचार्य र पौडेलसहित भूकम्प प्रभावित क्षेत्रमा काममा खटिएका नेताहरु केन्द्रीय कमिटी बैठकमा समेत नआएर पीडितको घाउमा मल्हम लगाउने काम गरिरहनु भएको छ ।