जनता टाइम्स

९ मंसिर २०८०, शनिबार १४:०५

नेपाली प्यानल भुटानमा निर्यात हुँदै


काठमाडौं, ९ मंसिर । व्यापार घाटा चुलिंदै गर्दा नेपालको एउटा निर्माण सामाग्री भुटानमा निर्यात हुने भएको छ । प्यानलको प्रयोग गरी आधुनिक घर बनाउँदै आएको एसवाई प्यानलले आफ्ना प्रडक्ट भुटानमा निर्यात गर्ने भएको हो । यसअघि कम्पनीले प्रि–फ्याब घर निर्माणका लागि आवश्यक सामग्रीहरू भारतमा निर्यात थालेको थियो । एसवाई प्यानल र एसवाई प्यानल विल्डर्स भुटानबीच भुटानमा प्रडक्ट निर्यातका लागि सम्झौता भएको छ ।

एसवाई प्यानलका निर्देशक बिमलराज गोसाईंले भुटान निर्माणका लागि आवश्यकपर्ने पर्खाल र छानोका प्यानल तथा झ्याल÷ढोकाहरू निर्यात हुने बताउनुभयो । ‘हामीले भुटानमा डिलर बनाएर सामान निर्यात गर्ने तयारी गरेका छौं, पहिलो चरणमा आवासीय डिलर बनाउनका लागि सामान जान्छ, ‘उहाँले भन्नुभयो, ‘कम्पनी र भुटानी डिलरबिच भएको सम्झौता पश्चात् भुटानमा पनि निर्माणजन्य सामग्रीको निर्यात गर्ने ढोका खुलेको छ ।’

गोसाईंका अनुसार पहिलो चरणमा २० लाख रुपैयाँ बराबरको निर्माण सामग्रीको निर्यात हुनेछ । कम्पनीले प्यानलको प्रयोग गरी कम लागतमा घर निर्माण गर्दै आएको छ । ‘देशमा निर्माण सामग्रीको आयात बढिरहेको समयमा एसवाई प्यानल कम्पनीले निर्माण सामग्रीको निर्यात गर्नु खुसीको विषय हो, आगामी दिनमा निर्यात बढाउने तथा प्यानलका घर निर्माणलाई तीव्रता दिने हाम्रो योजना छ,’ गोसाईंले भन्नुभयो ।

कोरियाली लगानीमा चितवनको रत्ननगरमा सञ्चालनमा रहेको उद्योगबाट प्यानलको सामग्री उत्पादन हुँदै आएको छ । कम्पनीले केही समय अगाडि भारतको सिलगुडीमा प्यानल पठाएर निर्यातको सुरुवात गरेको थियो । गोसाईंका अनुसार नेपालमा एसवाई प्यानलका करिव ७÷८ हजार घर बनिसकेका छन् ।