जनता टाइम्स

१५ मंसिर २०८०, शुक्रबार ०५:३०

दुर्घटनामा एकै परिवारका तीनको मृत्यु


हेटौँडा, १५ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एकै परिवारको तीन जनाएको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्रीसडक खण्डमा बिहीबार दिउँसो सुकौराबाट कान्ति लोकपथतर्फ आउँदैगरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल दुर्घटनामा परी बाबु, आमा र छोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ कुर्लेपाखाका वर्ष ३५ का भीमबहादुर स्याङतान, मोटरसाइकल पछाडि सवार करिब ३४ वर्षीय रुपा स्याङ्तान र निजको करिब चार–पाँच महिनाकी छोरी छन् ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले आमा छोरी दुवै जनाको घटनास्थलमा र बाबुको उपचारका लागि भरतपुर लैजानेक्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

रुपाका पति मकवानपुरगढी गाउँपालिका–२ कुर्लेपाखाका वर्ष ३५ का भीमबहादुर स्याङतानले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई पुल छेउबाट करिब १०–१२ मिटर तल खसेर दुर्घटना भएको थियो ।

भीमबहादुरको टाउकोमा चोट लागेर अवस्था गम्भीर भएपछि हेटौँडा अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो ।

भीमबहादुरलाई बिच बाटोबाट पुनः हेटौँडा अस्पताल फर्काइएकोमा १६ः२० मा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक भण्डारीले तीनै जनाको शव हेटौँडा अस्पतालमा रहेको बताउनुभयो ।