जनता टाइम्स

१५ मंसिर २०८०, शुक्रबार १८:३६

डोटीबाट केपी ओलीको उदघोष : प्रचण्ड-माधवले अनेक षडयन्त्र गर्दा पनि एमाले सिद्धिएन


डोटी, मंसिर १५ । नेकपाका एमाले अध्यक्ष केपी शर्माले पार्टीभित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको जनतालाई धन्यवाद दिनुभएको छ।

मध्य पहाडी लोकमार्ग पदयात्राको क्रममा डोटीमा आयोजित सभालाई आज साँझ सम्बोधन गर्दै अध्यक्ष ओलीले जनता र कार्यकर्ताले पार्टी जोगाएको भन्दै धन्यवाद दिनुभएको हो ।

‘प्रचण्ड षडयन्त्र भए, माधवको षडयन्त्र भए, अरू षडयन्त्र भए । ती सबै षडयन्त्रलाई परास्त गरेर पार्टी जोगाउनु भएको छ । पार्टी फेरि पहिलेकै ठाउँमा आएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्धयाउन लाग्दा पनि पार्टी सकिएन, बलियो बनेर उभियो, तपाइ सबैलाई धन्यवाद।’

अध्यक्ष ओलीले पछिल्लो समय सत्तारुढ दलबाटै मुलुकमा हिंसा भडकाउने काम भइरहेको भन्दै कडा आपत्ति जनाउनु भयो । उहाँले देशलाई अगाडि बढाउने संकल्पका साथ एमालेले सङ्कल्प यात्रा सुरु गरेको पनि प्रष्ट पार्नुभयो । ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको भन्दै कडा आलोचना गर्नुभयो । यस्तै उहाँले अहिलेको सरकार धेरै समय टिक्न नसक्ने ठोकवा गर्नुभयो ।

‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रा परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन,’ ओलीले भन्नुभयो । अध्यक्ष ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन पनि दिनुभयो ।