विराटनगर, ३ पुस । नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
नेकपा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ तर हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने उहाँले भन्नुभएन ।
नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो ।
एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ । एमाले महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताउनुभयो । यात्राका क्रममा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको जिकीर गर्दै उहाँले भन्नुभयो, ‘यात्राको जति चर्चा भयो, त्यसभन्दा धेरै प्रभाव देखिएको छ ।’
प्रतिक्रिया दिनुहोस्