काठमाडौं, पुस ३ । एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे सर्वाेच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ सकिएको छ ।
प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै गत शुक्रबार सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।
रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ ।
नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्न समेत रिटमा माग गरिएको छ ।
आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको रिट निवेदनमा दावी गरिएको छ ।
एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको छ । मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको छ ।
रिटमाथिको सुनुवाइ सकिएकोले आजै बेलुकासम्म फैसला आउने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा तोकिएको थियो । यसअघि रिटमाथि सुनुवाइका लागि पटकपटक पेशी तोकिदै आएपनि ’हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्