काठमाडौं, पुस ४ । दैलेखको नारायण नगरपालिकामा सत्ता गठबन्धनका नेताहरूले चरम राजनीतिकरण गरेपछि नगरप्रमुख लोमन शर्मा एक्सनमा उत्रिनु भएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेका स्थानीय भक्तबहादुर मल्लले सरकारमा आफ्ना मान्छेहरु भएको भन्दै नगरप्रमुख र कार्यपालिकालाई अटेर गरेर धमाधम बिवादास्पद आफन्तलाई कर्मचारी बनाएर ल्याउन थालेपछि नगर प्रमुख शर्मा कठोर निर्णयमा पुग्नुभएको हो ।
कार्यपालिकामा छलफल नै नगरी अस्वस्थ व्यक्तिलाई ड्राईभर नियुक्ति, आफ्नो छोरीलाई कृषि प्राविधिकमा नियुक्ति, नगर प्रमुखसँग परामर्श नगरेरै जिल्ला बाहिर भएका बेलामा खाली भएको रोजगार संयोजकमा एकल सिफारिसमा सरुवा अनुमति दिएपछि नारायण नगरपालिकामा विवाद चुलिएको थियो ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त हस्ताक्षरमा कर्मचारी सरुवा गर्नुपर्ने प्रचलन तोडेर एकल रूपमा काम गरेको विषयले समस्या परेको नारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष जनक न्यौपानेले जानकारी दिनुभयो ।
कार्यपालिकाप्रति उत्तरदायी नभएको विषय उठाउँदा उल्टै नगरप्रमुखको सुरुवा गर्ने धम्की दिएको विषय नगर प्रमुखले मन्त्रालयमा राख्दै, उपसचिवको माग गर्दासमेत मन्त्रालयले उपसचिव पठाउन नसकेको नारायण नगरपालिकाका जनप्रतिनिधिहरुको गुनासो छ ।
मङ्सिर १२ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्नु भन्दै बमबहादुर केसीलाई जिम्मेवारी दिएको थियो । उत्त पत्र दिएको १७ दिन नपुग्दै पुनः बिवादास्पद छविका दीपककुमार आचार्यलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि नारायण नगरपालिका जनप्रतिनिधिहरू आक्रोशित बनेका छन् ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले पुस ३ गते मन्त्रालयमा पत्र पठाउँदै अहिले सुरुवा भएर आएका भनिएका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यसँग काम गर्न नसकिने भन्दै नगरपालिकामा नपठाउन पत्र लेखेर पठाउनु भएको छ । केसीले कामको सुरुवात गरिरहेको अवस्थामा राजनीतिकरण गरेर हप्ता हप्तामा प्रमुख प्रशासकीय अधिकृत खटाएर जनताको लागि काम गर्न खोजेका जनप्रतिनिधिहरुलाई अफ्ठेरो पार्न खोजेपछि बाध्य भएर पत्र लेखेको नगर प्रमुख लोमन शर्माको प्रतिक्रिया छ ।
अहिले सुरुवा भएका दीपक आचार्य बिवादास्पद छवी भएका व्यक्ति भएकोले हाजिर गराउन नसकिने भन्दै नगरपालिकाले मन्त्रालयमा पत्र पठाएको छ । ‘सरकारले हरेक पालिकामा उपसचिवको दरबन्दी अनिवार्य भनेको छ । दैलेखको साँच्चै विकास गर्न खोजेको भए, दैलेखका उपसचिव दरवन्दी भएका पालिकामा खटाएर धमाधम काम गर्न लगायो भने हामि मान्छौं, नत्र राजनीतिक करण गरेर जनप्रतिनिधिलाई काम गर्न अवरोध गर्ने काम स्वीकार हुन्न,’ प्रवत्ता जनक न्यौपानेले भन्नुभयो ।
काम गर्ने सोच भएकाहरूलाई काम गर्न नदिने जनताले चाहना गरेको विकास र शुसानको विषय ओझेलमा पार्ने काम भएकोले गलत कार्यको विरोधमा उत्रने र जनताको पक्षमा खुलेरै काम गर्ने तयारी भएको नगर प्रमुख शर्माको भनाई छ । हालै पठाइएका आचार्य कर्णाली र दैलेखकै अन्य पालिकामा रहँदा चरम भ्रष्ट स्वरुप देखाएको कारण आफ्नो नगरमा स्वच्छ छविका उपसचिव पठाउनु पर्ने जनप्रतिनिधिको अडान रहेको छ ।














प्रतिक्रिया दिनुहोस्