बुटवल, पुस ५ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्माण सम्पन्न भएर उदघाटन गरिएको डेढ वर्ष बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नभएकोप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।
बिहीबारबाट बुटवलमा सुरू भएको ’लुम्बिनी एक्स्पो एवं अन्तर्राष्ट्रिय व्यापार मेला’ उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सरकारकै बेवास्ताका कारण विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरूले उडान नगरेको भन्दै आपत्ति जनाउनु भएको हो ।
पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन गर्न नसक्ने सरकारबाट अरू विकास निर्माणका कामको अपेक्षा गर्न नसकिने बताउनु भयो । बनिसकेको विमानस्थल चलाउन नसक्ने सरकारबाट कुनै कामको अपेक्षा गर्न नसकिने उहाँको निश्कर्ष छ ।
’गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरकारकै कारण सञ्चालन हुन सकेको छैन । सिंगो सरकार, सम्बन्धित मन्त्रालय, नागरिक उड्डययन प्राधिकरणमा रहेका जिम्मेवार व्यक्तिहरूले विमानस्थल सञ्चालनका लागि पहल गर्नुपर्ने हो,’ पौडेलले भन्नुभयो ।
उपाध्यक्ष पौडेलले राज्यको धेरै लगानी र मेहनत खर्च गरेर बनाइएको विमानस्थल सञ्चालन गरेरै छाड्ने अठोट पनि गर्नुभयो । ’हामीले धेरै मेहनत गरेर बनाइएको विमानस्थल हो यो । व्यवसायीहरूलाई चिन्ता नलिन आग्रह गर्छु । यसलाई आकर्षक विमानस्थलका रूपमा अघि बढाएरै छाड्छौं,’ पौडेलले भन्नुभयो ।
पौडेलले वर्तमान सरकार सुशासन, विकास निर्माण लगायत हरेक क्षेत्रमा असफल भएको भन्दै असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताउनु भयो । निर्माणाधीन बुटवल–नारायणगढ सडक निर्माणमा पनि ढिलासुस्ती र लापरबाही भए पनि सरकारमा रहेकाहरूले तमासा हेरेर बसेको पनि पौडेलले बताउनु भयो ।
’सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखा पर्दै गएको छ । अहिले मुलुकमा उत्पन्न संकटको प्रमुख जिम्मेवारी सरकारले लिनुपर्छ,’ पौडेलले भन्नुभयो । उहाँले तीनै तहका सरकारमा देखिएका समस्याको जिम्मेवारी लिँदै समाधान खोज्ने काम पनि तीनै तहका सरकारले लिनुपर्ने सुझाव दिनुभयो ।
’जुन तहका सरकारमा समस्या देखा परेको छ, त्यसको जिम्मेवारी र समस्या समाधान पनि सम्बन्धित तहले नै गर्नुपर्छ। एकअर्कालाई दोष देखाएर कोही पनि उम्किन मिल्दैन,’ पौडेलले भन्नुभयो ।
यस्तै पौडेलले बुटवलको ६ लेन सडक निर्माण र लुम्बिनी प्रादेशिक अस्पतालको टेन्डर आह्वान प्रक्रियामा भइरहेको ढिलाइप्रति पनि आक्रोश पोख्नुभयो । ’सिंगो प्रदेशकै गौरवको आयोजनाको रूपमा अगाडि सारिएको लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि तत्काल टेन्डर आह्वान गरियोस र बुटवललाई गिज्याइरहेको मुख्य बजार क्षेत्रको ६ लेन सडक निर्माण तत्काल अगाडि बढाइयोस,’ पौडेलले भन्नुभयो ।

उहाँलेसरकारमा बस्नेहरूले रमिता हेर्ने गरेकै कारण विकास निर्माणका आयोजना ठप्प बनेको पनि बताउनु भयो । वर्तमान सरकारले विकास आयोजनाहरू ठप्प पारे पनि बुटवल र सिंगो रूपन्देहीलाई विकासको रोल–मोडलका रूपमा अगाडि बढाउने आफ्नो अभियान नरोकिने उहाँको भनाई थियो ।
’यसै क्षेत्रको जनप्रतिनिधिको हैसियतले यहाँका विकास आयोजना रोकिन दिने छैन र जनताप्रतिको विश्वास पनि टुट्न दिने छैन। निर्माणाधीन विकासका सबै आयोजना पूरा गरेरै छाडिने छ,’ रुपन्देही २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले भन्नुभयो ।
सम्बोधनको क्रममा उहाँले आगामी फागुन महिनाभित्र झुम्सा खोलाको खानेपानी बुटवलको रामफेदीमा झार्ने अठोटसमेत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्