एमालेमा रहेको सामुहिकता, एमालेमा रहेको सरलतालाई यो यात्राले राम्रोसँग उजागर गरेको छ । जनताको मेसमा खाने कुरा हाम्रो लागि गर्वको कुरा भएको छ । यात्राको क्रममा हामीले यो सच्चाईलाई ब्यवहारमा लागू गरेका छौं । हामीमा रहेको समभाव पनि प्रकट भएको छ
विष्णु रिमाल
नेकपा एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सुदुरपश्चिम प्रदेशदेखि पूर्वको कोशी प्रदेशसम्म समेटेर झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा सम्पन्न गरेको छ । धेरै मानिसले यो यात्रालाई पदयात्रा पनि भने तर यो पदयात्रा नभएर बसकै यात्रा हो । तर बिगतमा अरुले गरेकोभन्दा बिल्कुलै फरक यात्रा थियो यो । विगतका भन्दा एकदमै फरक यात्रा । यो आमसभा गर्ने, भाषण गर्ने, आफ्ना कुरा राख्ने र हिँड्ने यात्रा होइन, चुनावी सभाजस्तो पनि होइन । हामी जनतालाई भेट्न चाहन्थ्यौं, जनताका कुरा सुन्न चाहन्थ्यौं, जनताको सुझाव लिन चाहन्थ्यौँ । स्थानीयस्तरका सुझावपत्र बुझ्ने, ध्यानाकर्षण–पत्र बुझ्ने, नागरिकका गुनासो सुन्ने, समाधानको बाटो खोज्ने यात्रा थियो यो ।
यो यात्रालाई हामीले क्याराभान अर्थात लस्कर भनेका थियौँ । एमालेको प्रमुख नेतादेखि कार्यकर्ता तहसम्मका लस्कर हिँड्छ, लस्करलाई भेट्न बाटोभरी मान्छे बस्छन । जसरी रेलको इञ्जिन दौडन्छ, सुरुदेखि अन्त्यसम्म, विभिन्न डिब्बा विभिन्न समयमा जोडिन्छन, त्यसैगरी प्रदेश र जिल्लामा विभिन्न ठाउँमा नेता–कार्यकर्ता जोडिनुहुन्छ तर एउटा छरितो टिम सुरुदेखि अन्त्यसम्म हिँड्छ भन्ने हाम्रो परिकल्पना थियो । मूलतः त्यो परिकल्पना अन्तर्गत नै झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म पार्टी अध्यक्षको नेतृत्वमा यात्रा सम्पन्न भयो । पहिले पनि पार्टीले धेरै कार्यक्रम र सभा गरेकै हो । ती कार्यक्रम र सभा गर्दा पार्टीले जनतालाई उतार्न धेरै मेहनत गर्नु पर्दथ्यो । अहिलेको पल्ट हामीले आह्वान मात्र गर्यौं, अरू केही पनि गरेनौं, जनता आफैँ आए ।
यो यात्रामा अर्काे फरकपन भनेको ठुला नेताहरू ठुलै होटेलमा बस्छन । ठुलाबडासँगै सङ्गत गर्छन, साधारण मान्छेको घरमा बस्दैनन, साधारण मान्छेका कुरा सुन्दैनन भन्ने भ्रमपूर्ण धारणा नेपाली जनमानसमा बनेको थियो । त्यसलाई चिर्ने यात्रा थियो यो । जनताकै कुरा सुन्ने, जनताकै घरमा बस्ने, जनताकै मेसमा खाने यात्रा थियो यो । नितान्त देशको समृद्धिको लागि संकल्प यात्रा थियो यो । मध्यपहाडी लोकमार्गको ६ वटा उद्देश्यलाई नेकपा एमालेले पहिला नै सूत्रबद्ध गरेको थियो । पहिलो त विकास शहरबाट गाउँ पस्ने मानिस गाउँबाट शहर पस्ने र विदेश जाने किन भइरहेको छ ? त्यसको समाधान खोजी गर्नुपर्छ भन्ने थियो ।
दोस्रो, पुष्पलाल मध्यपहाडी लोकमार्ग नेकपा एमालेको सोचको उपज हो । बसाइसराइलाई रोक्ने र पहाडमा नयाँ शहरीकरण गरी पहाडमा नै बस्ने वातावरण सिर्जना गर्ने सो सडक निर्माणको मुख्य उद्देश्य थियो । यसको लागि मध्यपहाडमा नै १० वटा ठूला शहर बनाउने हाम्रो योजना थियो । तीमध्ये केही शहरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजना सडकको परिकल्पना गर्दै गरिएको थियो । ती १० वटा शहर बने कि बनेनन ? नबने किन बनेनन ? भन्ने कारण खोज्नु यात्राको अर्को उद्देश्य थियो ।
तेस्रो, मध्यपहाड हाम्रो उर्वर भूमि हो । त्यसमा जैविक विविधता छ र कृषिको लागि पनि उपयुक्त छ । त्यसमा कृषिको आधुनिकीकरण र व्यावसायीकरण किन हुन सकेन ? त्यसलाई कसरी बढाउन सकिन्छ ? ती विषयको खोजी गर्नुपर्ने थियो । मध्यपहाड भनेको सांस्कृतिक विविधता भएको ठाउँ पनि हो । सांस्कृतिक विविधता राष्ट्रिय एकता र राष्ट्र निर्माणको लागि जरुरी शक्ति हो । त्यसमा पनि एमालेले आफूलाई जोड्न चाहिरहेको थियो ।
सबैभन्दा महत्वपूर्ण विषय यात्राको नारा नै थियो कि– ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय ।’ स्थानीय तहका जनतासँग पार्टीलाई जोड्ने हाम्रो मूल उद्देश्य थियो । त्यो जोडिनु भनेको राष्ट्रिय सन्देश दिने कुरा हो । नेपालमा बलियो राष्ट्रिय शक्ति नबनेसम्म यो प्रणाली पनि जोगिँदैन र लोकतन्त्रको पनि विकास हुनसक्दैन भनेर हामीले बारम्बार भन्दै आएका छौँ । त्यो जोगाउनको लागि के गर्न सकिन्छ ? भनेर नागरिकसँग छलफल गर्नुपर्ने थियो । त्यो गर्नको लागि पनि हामी यात्रामा निस्किएका थियौं ।
यिनै विषयलाई जोडेर हामीले मध्यपहाडी यात्रा थालनी गरेका थियौं । यात्राको क्रममा झण्डै २ हजार किलोमिटर दुरी पार गरियो । यदि यो लोकमार्गको काम सबै पूरा भएको थियो भने करिब १८–१९ सय किलोमिटरमा यो यात्रा सम्पन्न हुने थियो । त्यही यात्राको क्रममा देखिएको समस्या संकलन गरी समाधानको उपाय खोज्न यो यात्रा गरिएको थियो ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको अहिलेको यात्रालाई हेर्न हो भने यो एउटा मेला जस्तो भयो । विकास र समृद्धि खोज्ने राजनीतिक महामेला । त्यसमा हामीले कुनै पनि अररा राजनीतिक विषय राखेनौं, कुनै अप्ठेरा राजनीतिक नारा बनाएनौं, केवल समृद्धिका विषयमा कुरा गर्ने भन्यौं । वास्तवमा हामी जनताले के भन्छन ?, के सोचिरहेका छन ? त्यो बुझ्न र सुन्न चाहन्थ्यौँ । नागरिकहरू हाम्रो पार्टी अध्यक्षलाई भेट्न चाहन्थे, पार्टीको नेतृत्वलाई भेट्न चाहन्थे । गाउँका नागरिकहरू टेलिभिजनमा देखिएका अनुहारलाई प्रत्यक्ष नजिकबाट निहाल्न चाहन्थे । फोटो खिच्न चाहन्थे । नागरिकको यो रहर पूरा गराउन पनि यो अभियान थालिएको थियो ।
यस मानेमा मूलतः यो अभियान सफल भएको छ । अभूतपूर्व रूपमा ऐतिहासिक भएको छ । जुन तरिकाले नागरिकले यसलाई साथ दिए, त्यो सारै नै उल्लेखनीय छ । नागरिकको यस्तो साथ बिरलै पाइन्छ । यात्राको क्रममा ४२ भन्दा बढी ठाउँमा सभा भए । ती सभाका साइज फरक फरक छन । ठूला साइजका सभा एक खालका छन । साना साइजका सभा पनि आफैँमा प्रभावकारी छन । हरेक सभाका आफ्ना विशेषता छन । सुर्खेतमा पानी परेको बेलामा पनि छाता ओढेर नागरिकहरू दुई घण्टा बढी पर्खिएर पार्टी अध्यक्षको भनाइ सुनेर मात्र हिँड्नुभयो ।
नुवाकोटको बट्टारमा दिउँसो राखिएको सभामा राति १० बजेसम्म पर्खिएर नागरिकहरूले अध्यक्षको मन्तव्य सुन्नुभयो । सामान्यतया डाकेर ल्याइएका मानिसहरू त्यति समयसम्म बस्दैनन । उहाँहरू विना आक्रोश धैर्यताका साथ कार्यक्रममा सहभागी हुनुभयो र कार्यक्रम सकेपछि मात्र फर्कनुभयो । ठिक त्यस्तै स्थिति मन्थलीमा देखियो । मन्थलीमा पनि १० बजेपछि सभा भयो ।
जुन तरिकाले नागरिकले यसलाई साथ दिए, त्यो सारै नै उल्लेखनीय छ । नागरिकको यस्तो साथ बिरलै पाइन्छ । यात्राको क्रममा ४२ भन्दा बढी ठाउँमा सभा भए । ती सभाका साइज फरक फरक छन । ठूला साइजका सभा एक खालका छन । साना साइजका सभा पनि आफैँमा प्रभावकारी छन । हरेक सभाका आफ्ना विशेषता छन । सुर्खेतमा पानी परेको बेलामा पनि छाता ओढेर नागरिकहरू दुई घण्टा बढी पर्खिएर पार्टी अध्यक्षको भनाइ सुनेर मात्र हिँड्नुभयो

पार्टीको आधार कमजोर भएका ठाउँमा पनि ठूला ठूला सभा भए । त्यस्ता ठाउँमा पनि नागरिकको उल्लेख्य परिस्थिति रह्यो । फरक राजनीतिक विचार राख्ने दलका नेताहरू पनि एमाले अध्यक्षलाई स्वागत गर्न बस्नुभयो । उहाँलाई सुन्न बस्नुभयो । ठाउँ ठाउँमा इतिहास तोड्ने खालका सभाहरू भए । सुदुरपश्चिमको अछामदेखि कर्णालीको दैलेखस्थित रास्कोटको सभा होस वा अन्य जिल्लाका सभा हुन, पहिला केहिल्यै नभएको सानदार सभाहरु सम्पन्न भए । कोशीमा बन्द, हडतालले कार्यक्रम भाँड्ने प्रयासका बाबजुद पनि कोशी प्रदेशमा ऐतिहासिक र अहिलेसम्म कहिल्यै हुन नसकेका ठूला सभाहरू भए । अत्यन्तै प्रतिकिुलता र लगातारको बन्दको बावजुद पाँचथरको फिदिममा भएको सभा अहिलेसम्म कहिल्यै भएको थिएन । उपस्थितिको हिसावले यो यात्रामा जस्तो सानदार सहभागिता कहिल्यै देखिएको थिएन भनेर स्वयं आलोचना गर्नेहरुकै मुखबाट सुनियो ।
यो यात्राको क्रममा एमालेको पालामा सुरु भएका राष्ट्रिय गौरवका आयोजनाहरूको अवलोकन गर्ने अवसर पनि मिल्यो । ती आयोजनामा अहिलेको सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा तोकिएको काम हुन नसकेका र आयोजनाहरू अलपत्र पर्ने अवस्थामा पुगेका पनि देखियो । एमालेले नै सुरु गरेका योजना समयमा सम्पन्न गराउन दबाब सिर्जनाको लागि पहल गर्नुपर्यो भन्ने सुझाव पनि आएका छन् । धेरै टेक्निकल विषयमा पनि यात्राको क्रममा हामीले सुझाव पाएका छौँ ।
यो यात्रामा विकास निर्माणको विषयमा धेरै गम्भीर छलफल भएका छन । भूकम्पले प्रभावित भएका क्षेत्रमा विभिन्न दलका नेताहरूसँग समेत अन्तरक्रिया गरियो । पीडितको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा धेरै महत्वपूर्ण छलफल भए । भेरी बबइ आयोजनादेखि सुनकोशी मरिन आयोजनाको अवलोकनदेखि धनकुटाको पाख्रिबासमा कृषिविज्ञहरुसँग छलफल गरियो । आयोजनाका लागि सरकारले बजेट कटौती गरेको बिषयमा पनि हामीले जानकारी लिएका छौं । भेरीबबइ डाइभर्सनको सुरुङ ब्रेक थ्रु गर्दा केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । तर हामी सरकारबाट हटेपछि त्यो काम जस्ताको तस्तै रहेछ । यो दिक्दारलाग्दो कुरा हो । किनकि राज्यको सम्पत्ति खेर गइरहेको छ भन्ने यस्ले देखायो । अन्य आयोजनाको अवस्था पनि बजेट अभावमा यस्तै दुरावस्ता देखियो । पाख्रिबासमा कृषि क्षेत्रका समस्या र समाधानका उपायबारे धेरै सुझाव दिनुभएको छ । त्यो हाम्रो लागि धेरै महत्वपूर्ण दस्ताबेज बन्ने छ ।
मध्यपहाडी पुष्पलाल राजमार्गको सन्दर्भमा हामी यसको मार्केटिङ पनि गर्न चाहन्थ्यौं । यदि यो बाटो बनिसकेको छ भने गाडी किन गुड्दैनन ? किनभने यो वैकल्पिक बाटो हो । यसबाट नयाँ विकास गर्न सकिन्छ । अरू सडक बनेका ठाउँमा छिटो शहरीकरण भएका छन तर यो बाटोको छेउमा शहरीकरण हुन सकेको छैन । यसको कारण खोज्न जरुरी छ । त्यसकारण केपी ओलीलाई हिँडाइयो भने यो बाटो हिँड्न योग्य छ भन्ने सन्देश प्रवाह गर्नु पनि हाम्रो उद्देश्य थियो ।
यात्राको क्रममा केही ठाउँमा अहिले पनि अलाइनमेण्टको विवाद रहेको पाइयो । १५ मिटर कि ३१ मिटर भन्ने विषय नटुङ्गिएको कारण जग्गाको झमेला रहेको पनि देखियो । केही केही ठाउँमा बाटोलाई डाइभर्ट गर्नुपर्ने स्थिति अझ पनि रहिरहेका पाइयो । यसलाई हामीले पहिल्यै पनि रोड अडिट गरेर संशोधन गर्छौं भनेका थियौं । अब त्य तर्फ जानु पर्ने छ । त्यो कुरा पनि हामीले आफ्नै आँखाले हेर्न पायौँ । यात्राले मध्यपहाडको समस्या र सम्भावनाको खाका बनाउने डकुमेन्ट दिएको छ हामीलाई । धेरै त लिखित रूपमा पनि आएका छन । केही मौखिक रूपमा आएका छन । धेरै हामीले आफ्नै आँखाले देखेका छौं । त्यसको विश्लेषण गर्न बाँकी छ । त्यसलाई मिहिन ढङ्गले विश्लेषण गरेर मध्यपहाडमा विकासको खाका बनाइने छ ।
मध्यपहाडमा धेरै खालको कृषि र पशुपालनको सम्भावना छ । त्यसलाई व्यावसायीकरण गरियो भने समृद्धिको आधार तयार हुन्छ । तर त्यसमा बिमा र बजारीकरणको जिम्मा राज्यले लिनुपर्छ । यी समस्या मध्यपहाडको कृषिले भोगिरहेको छ । मध्यपहाडको सुन्तला र सयपत्रीको मात्रै उचित बजारीकरण गर्न सक्ने हो भने त्यहाँका मानिस मालामाल बन्न सक्छन । तर यसलाई एउटा प्याकेज बनाएर लैजानुपर्छ भन्ने हामीले पहिचान गरेको समस्या हो । गाउँबाट अहिले युवा बाहिर गएका छन । युवालाई त्यहीँ बस्ने वातावरण बनाउन पहाडमा कृषिमा व्यावसायीकरण र सडक छेउमा बजारीकरण गर्नुपर्छ । त्यसो भयो भने पहाडमा नै उद्यमशीलता सिर्जना हुन्छ र उद्यमशीलताले मानिसलाई पहाडमा नै रोक्छ । यसले विदेश जाने लहरलाई रोक्न सकिन्छ ।
एमालेमा रहेको सामूहिकता, एमालेमा रहेका सरलता, यी सबै कुरा यो यात्रामा देखाउन पाइएको छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएका मानिसहरू तारे होटेलमा बस्छन्, मिठो खान्छन् भन्ने परेको थियो । यो यात्रामा एउटै हलमा नेताहरू लाइन लागेर पनि सुत्नुभयो । धेरै ठाउँमा होम स्टेमा बस्नुभयो । आफ्ना कार्यकर्ताका घरमा बस्नुभयो । गर्वका साथ जनताले तयार गरेको मेसमा खानुभयो

अर्को महत्वपूर्ण कुरा बाटो र बिजुली पुगेपछि गाउँमा चेतना बढेको छ । अब बाटो र बिजुलीसँगै शिक्षा र अस्पताल आवश्यक छ । गुणस्तरीय शिक्षा दिने शिक्षण संस्था र सुविधा सम्पन्न अस्पताल नभएसम्म जति कुरा गरे पनि मानिस गाउँमा बस्दैन । त्यही भएर एमाले सरकारको पालामा निरोगी नेपालको अवधारणा ल्यायौं । स्वास्थ्य बिमा र एक गाउँ एक अस्पतालको अवधारणा ल्यायौं । तर अहिलेको सरकारले ती अस्पतालको बजेट काटिदियो । हामीले बनाएको प्लान अहिलेको सरकारले भत्काइदिएको यात्राको क्रममा हामीले महसुस गर्यौं ।
यात्राको क्रममा ३० वटा जिल्ला छोइयो । ३० वटा जिल्लाका अनेकौँ खालका विविधता हेर्ने र बुझ्ने मौका पाइयो । हरेक जिल्लाका फरक बिशेषता छन । त्यसलाई अवलोकन गर्न पाइयो । यसहिसाबले पनि यो यात्रा निक्कै नै सफल भएको छ । यो यात्राले नेकपा एमालेलाई आन्तरिक रूपमा धेरै नै राम्रो गरेको छ । यो यस मानेमा पनि ऐतिहासिक भएको छ कि, कुनै पनि राजनीतिक दलको नेतृत्व यसरी एकैपटक पश्चिमदेखि पूर्वसम्म पुगेको यो नै पहिलो घटना हो । २५ लाख बढी जनताले हामीसँग प्रत्यक्ष परोक्ष रूपले भेट्नुभयो । नेताहरूलाई ग्राउण्ड जिरोबाट नेपाल परिचय गराउने र जनतालाई समग्र एमालेको नेतृत्व कस्तो छ भन्ने चिनाउने । यो दुइवटै काम यो यात्राले गरेको छ ।
एमालेमा रहेको सामूहिकता, एमालेमा रहेका सरलता, यी सबै कुरा यो यात्रामा देखाउन पाइएको छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएका मानिसहरू तारे होटेलमा बस्छन्, मिठो खान्छन् भन्ने परेको थियो । यो यात्रामा एउटै हलमा नेताहरू लाइन लागेर पनि सुत्नुभयो । धेरै ठाउँमा होम स्टेमा बस्नुभयो । आफ्ना कार्यकर्ताका घरमा बस्नुभयो । गर्वका साथ जनताले तयार गरेको मेसमा खानुभयो । आफू चढ्ने सवारी साधनलाई एउटा युनिट बनाएर पुरै युनिट सानो ठुलो नभनी एउटै वासस्थानमा बस्ने काम भयो । यसबाट समभाव प्रकट हुने मौका मिल्यो । यो यात्राले नेपालको राजनीतिमा नयाँ सन्देश छाड्न सफल भयो । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति नागरिकमा देखिएको क्रेज र भेटन चाहने पागलपन नै भन्दा हुन्छ, त्यसलाई हेर्दा त यो यात्रा कसैले सोच्न नसकेको उपलब्धीसहित सफल बन्यो ।
(रिमाल नेकपा एमालेका उपमहासचिव हुनुहुन्छ ।)













प्रतिक्रिया दिनुहोस्