काठमाडौं, ७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गर्नुभएको छ । आज जनतासँग माओवादी विशेष रूपान्तरणअन्तर्गत काठमाडौँको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डेढ वर्षभित्र एउटा पनि घर विद्युत् नपुगेको नरहने जिकिर गर्नुभयो । उहाँले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरूले काम गरिरहेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिले तेस्रोपटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिङ्गै देशमा एउटा पनि घर विद्युत् नपुगेको रहने छैन । डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ । यो लक्ष्यसहित हामी अघि बढेका छौँ ।’ त्यस्ते उहाँले भूमि सम्बन्धी, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र सरकारमा पनि छलफल भइसकेको बताउनुभयो । नयाँ ऐन आएसँगै लालपुर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुने उद्घोष गर्नुभयो । ५० औँ वर्षदेखिका अव्यवस्थित बसोवासीका, स्ववासीका समस्या समाधान गर्ने ढङ्गले ऐनको व्यवस्था भइरहेको उहाँको भनाई छ । ऐनमा भएका केही त्रुटिका कारणले यो समस्या आइरहेको र अहिले आफूले समस्या फुकाउन लागेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्