जनता टाइम्स

१० पुष २०८०, मंगलवार ११:१७

जनलेखक संघको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, नेतृत्वमा प्राज्ञ नेपाली


बिराटनगर, पुस १० । जनलेखक संघको अन्तर्राष्ट्रिय सम्मेलन कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न भएको छ ।

नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, बर्मालगायत देवनागरी लिपी चल्ने देशहरुबाट सहभागी सयौँ साहित्ययात्राका यात्री र स्रष्टाको उत्साहप्रद उपस्थितिमाझ प्रदेशको राजधानीस्थित विष्णुमाया पुस्तकालय परिसरमा दिसम्बर २५ र २६ तारिखमा सम्पन्न सम्मेलनलाई प्रदेशका वन, वातावरण तथा पर्यावरणमन्त्री सुशील उप्रेतीले पर्यावरणको स्रोत वृक्षमा पानी सिञ्चन गरेर गर्नुभएको थियो ।

तीन सत्रमा व्यवस्थापन गरिएको कार्यक्रमको पहिलोसत्रको अध्यक्षता प्राज्ञ खेम नेपाली र मधु पोखरेलले संयुक्त रूपमा गर्नुभएको थियो भने अरु दुबैसत्रमा सहभागिताका हिसावले विभिन्न देश देशान्तरका राज्यका प्रतिनिधिले गर्नुभएको थियो । समाजवादउन्मुख राज्य निर्माण र शासन प्रणालीको परिकल्पनामा निर्दिष्ट रहँदै परिवर्तनका पक्षधर नागरिकको पक्षमा लेख्ने, बोल्ने र कलम चलाउने जनलेखकको यो भेला, संगोष्ठि र सम्मेलन आफैंमा विभिन्न हिसावले निकै महत्त्वपूर्ण रहेको विषयलाई उद्घाटन क्रममा प्रमुख अतिथि उप्रेतीले बताउनुहुँदै पूजीवादी समाजवाद होइन, जनलेखन गर्ने जनलेखकले जनपक्षीय समाजवादको पक्षमा आफ्नो शक्तिलाई उभ्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रगतिशील भन्न कत्ति पनि असजिलो नमान्ने हाम्रो जनजिब्रोले मार्क्सवादी आलोक बिना प्रगति सम्भव नहुने कुरा दावीका साथ भन्नुपर्ने, बोल्नुपर्ने, संवाद आरम्भ गर्नुपर्ने र यसको पक्षमा जेहाद छेड्नुपर्नेमा जोड दिनुहुँदै डा महेन्द्र नारायण पंकजले आवाजविहिनको आवाज बन्न सक्नुपर्ने जिम्मेवारीसामु पूंजीवादी प्रहारबाट समाजलाई बचाउँदै अघि लैजाने विषय ठूलो चुनौति रहेको बताउनुभयो ।

उद्घाटनसत्र, कार्यपत्र प्रस्तुतिसत्र, काव्यरचना प्रस्तुतिसत्र र कार्यसमिति चयन एवम् अन्तर्राष्ट्रिय कमिटी घोषणसत्र गरी बाँडिएको तीनसत्रको कार्यक्रममार्फत देशभित्र तथा बाहिरका दर्जनौँ विषयविज्ञ, साहित्यिक स्रष्टा, प्राडा, कवि–कवियित्री, लेखक, चिन्तक, विश्लेषक, समालोचक सहित कैयौं विधागत जनशक्तिको सक्रिय सहभागिता रहेको थियो ।

सम्पन्न दोस्रो सम्मेलनमार्फत प्राज्ञ खेम नेपालीको अध्यक्षतामा डा महेश प्रसाद, युवराज बास्कोटा, सुशीला टाकभैरे, रामबाबु दाहाल, अब्दुर सरकार उपाध्यक्ष सहित एचबी विश्वास र महेन्द्र नारायण पंकज महासचिव, डा कान्तिलाल भदौर, डा ध्रुवकुमार र सरोन दिलु सचिव रहनुभएको समितिका क्रमशः प्रेमकुमार ओझा, सुरेशकुमार अकेला, विनोद सिन्हा, अर्जुन मोहनपुरिया, राधेश्याम मेहरा, वलमन्तमान सिंह, अञ्जु गिताञ्जली, मधु पोखरेल, हरि कट्टेल, बलबहादुर ज्वाला, राजेश थापा, अफिलाल ओखेडा, शरद गुप्ता, डा रौनी फौजदार सदस्य रहनुभएको कार्यसमिति सर्वसम्मत् चयन भएको छ ।

विराट साहित्य संगमको सहआयोजन रहेको सम्पन्न यो कार्यक्रममार्फत प्राडा टंक निरौला, विवस पोखरेल, डा बद्रीविशाल पोखरेल, कुन्ता शर्मालगायत भारतको उत्तरप्रदेश, बिहार, झारखण्ड, हरियाणा, दिल्लीलगायतको प्राज्ञ र विद्वत् वर्गको उल्लेख्य उपस्थितिमाझ सयौँ साहित्यिक रचनाहरू प्रस्तुत भएको र पुरस्कृत समेत भएको प्राज्ञ खेम नेपालीले बताउनुभयो ।