काठमाडौं, असार १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गर्ने क्रममा देशका विभिन्न भागमा देखिएको मौसमको प्रतिकूल स्थितिप्रति चासो व्यक्त गर्दै सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गर्नुभएको छ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागले मुलुकका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएको जनाउँदै सम्भावित प्राकृतिक विपद्बाट बच्न सबैलाई सतर्क रहन आग्रह गर्नुभएको हो। उहाँले बाढी, पहिरो र डुबान जस्ता जोखिमपूर्ण परिस्थितिमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वयंसेवकसँग समन्वयमा रहन अपिल गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा अत्यावश्यक बाहेक यात्रा नगर्न, मौसमको अद्यावधिक सूचनामा ध्यान दिन र नदी किनार तथा पहाडी क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । विपद् व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन सम्बन्धित निकायहरूलाई आह्वान गरिसकेको सन्दर्भमा प्रधानमन्त्रीको यो सन्देश आएको हो ।
प्रधानमन्त्री ओली स्पेनमा आयोजना हुने ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ चौथो सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सहभागिता जनाउँदै विकासशील राष्ट्रका लागि जलवायु वित्त, दिगो पूर्वाधार तथा अन्तर्राष्ट्रिय सहकार्यबारे धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ। जलवायु परिवर्तन र त्यसले सिर्जना गरेका असरहरूबारे अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालले निरन्तर आवाज उठाउँदै आएको सन्दर्भमा प्रधानमन्त्रीको यो भ्रमणलाई पनि विशेष महत्वका साथ हेरिएको छ।
एकातिर प्रधानमन्त्री जलवायु वित्तको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्न विदेश प्रस्थान गर्नु भएको छ भने अर्कोतर्फ स्वदेशमै जलवायुजन्य आपतको सम्भावना देखिएपछि नागरिकप्रति चासो व्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्