जनता टाइम्स

११ पुष २०८०, बुधबार ०९:००

गौतम बुद्द सामुदायिक अस्पतालबाट ४ सय ७५ जनाले नियमित मृगौलाको डायलाईसिस सेवा लिदैँ


बुटवल, ११ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरि काम गर्न नसकेको बताउनुभएको छ ।

मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोजेको टिप्पणी गर्नुभयो । प्रदेशले अधिकार प्राप्त नगर्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताउँदै उहाँले जनतामा निराशा उत्पन्न भएको उल्लेख गर्नुभयो ।

‘संविधानले सबै तहका सरकारलाई आआफ्नै जिम्मेवारी र अधिकार दिएको छ तर, प्रदेशको अधिकार दिन पनि संघले मान्दैन,’ मुख्यमन्त्री चौधरीले गुनासो व्यक्त गर्नुभयो । मुख्यमन्त्री चौधरीले सरकारी ऐन नियमहरु विकासका बाधक हुन नहुने बताउनुभयो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको ११ औं वार्षिक साधारणसभा तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री चौधरीले जनतालाई सहज र सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । मुटु अस्पतालको विकासको लागि आवश्यक सहयोगका लागि प्रदेश सरकार पनि तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले कतिपय सरकारी कानुनहरु समुदायले संचालन गरेका स्वास्थ्य र शैक्षिक संस्थामैत्री नभएको भन्दै त्यस्ता कानुनहरुलाई संसोधन गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यलाई निःशुल्क नगरेसम्म मुलुकको गरिबी न्यूनिकरण नहुने भएकोले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने तर्फ सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

अर्का पूर्व स्वास्थ्यमन्त्री एवं सांसद विष्णु पन्थीले सरकारी गोलचक्करका कारण विकासका काम अगाडि बढ्न नसकेको भन्दै सबैभन्दा पहिले कानुन संसोधन गर्नुपर्ने खांचो औंल्याउनुभयो ।

कार्यक्रममा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले लुम्बिनी प्रदेशका मात्र नभई ४४ जिल्लाका विरामीहरुले अस्पतालबाट सेवा लिईरहेको उल्लेख गर्दै जग्गा अभावको कारण अस्पतालको सेवालाई बढाउन नसकिएको बताउनुभयो । अध्यक्ष आलमले तिलोत्तमामा प्रस्तावित जग्गाप्राप्तिका लागि पहल गर्न मुख्यमन्त्री चौधरीलाई आग्रह गर्नुभयो ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ समिर गौतमले मुटुको विशेषज्ञ सेवासहित एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि सेवा समेत यसक्षेत्रमा मुटु अस्पतालमै पहिलो पटक शुरु भएको बताउनुभयो ।

२०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट हालसम्म क्याथल्याबबाट ४ हजार ८ जनाले एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि सेवा लिएको डा। गौतमले जानकारी दिनुभयो । त्यस्तै यस क्षेत्रका ४ सय ७५ जनाले नियमित मृगौलाको डायलाईसिस सेवा लिँदै आएका छन् ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका सहसचिव बाबुराम बोहोराको संचालनमा सम्पन्न भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर कुवंर, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमाल लगायतले भनाई राख्नुभएको थियो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल समुदायको स्तरबाट चलेको लुम्बिनी प्रदेशको एकमात्र मुटु अस्पताल हो । किड्नीका बिरामीलाई २४ सै घण्टा डायलासिस सेवा प्रदान गर्दै आईरहेको अस्पताल जग्गा अभावले ७ वटा भाडाका घरमा सञ्चालन हुँदै आईरहेको छ । गैरनाफामुखी अस्पतालमा रुपमा रुपन्देही उद्योग संघ र रोट्रयाक क्लबको आर्थिक सहयोगमा सञ्चालन भईरहेको अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको पनि कार्यक्रममा मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

अस्पतालको वार्षिक साधारण सभामा अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीसहित १० वर्ष भन्दा बढी सेवा गरेका झण्डै एक दर्जन कर्मचारी, अस्पतालको लागि १ लाख रुपैयाँ भन्दा बढी चन्दा सहयोग गर्ने चन्दादाता लगायतलाई सम्मान गरिएको थियो । अस्पताल २०७० सालदेखि सञ्चालनमा आएको थियो ।