सिरहा, ११ पुस । सिरहाको मिर्चैयास्थित एक होटलमा गएको केहीबेरमै एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा आज मध्यान्ह १२ बजेतिर एक महिलासहित गएका कल्याणपुर नगरपालिका–२ का करिब ४० वर्षीय मुकेशप्रसाद कर्णको मृत्यु भएको हो । महिलासहित उनी होटलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । तर, कोठामा गएको १० मिनेट पनि नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दै तल झरेको होटेलका सञ्चालक विजय यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘महिला रोइकराई गर्दै आएलगतै हामी सबैजना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्यायौं । तर, स्वास्थ्यकर्मीले मृत घोषित गरे ।’ जानकारी पाउन साथ पुगेका प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताउनुभयो ।
उहाँले मृतकको मुख बाङ्गो भएको छ । त्यो देख्दा उच्च रक्त चापले हानेको हो कि भन्ने प्रारम्भिक अनुमान गरिए पनि पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने बताउनुभयो । अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको छ । घर परिवारलाई खबर गरिएको बताँउदै डीएसपी बस्नेतले भन्नुभयो, ‘अहिले शव स्वास्थ्य संस्थामै छ । घरपरिवाका व्यक्तिहरु आएपछि आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि पठाउँछौं ।’













प्रतिक्रिया दिनुहोस्