काठमाडौं, पुस १५ । दुई निर्दोष युवाको ज्यानै लिने गरी ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका बारेमा न्यायिक छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकार सहमत भएको छ ।
सरकार उदण्ड बन्दा भएको सो घटनाको बिषयमा आज बसेको सत्तारुढ दलको बैठकमा यस्तो सहमति भएको हो ।सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय गर्ने भन्दै जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले आयोग गठनका लागि प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिनुभयो । कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवामाथि उच्च दलमनसहि गोली प्रहार गर्दा दुई जनाको गोली लागेर मृत्यू भएको थियो ।
सरकारले तत्कालै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर घटनामा मृत्यु भएका युवाका आफन्त र सरोकारवालाले भने त्यस्तो छानबिन समिति नस्वीकार्ने बताएका छन । शनिबार सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निर्णय नै गरेर सरकारलाई उच्चस्तरीय न्यायिक छानबिनका लागि माग गर्ने निर्णय गरेको थियो ।
उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै पीडितका परिवारले शनिबारदेखि सुर्खेतमा प्रदर्शन नै थालिसकेका छन् । घटनाका विषयमा चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री दाहाल पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग बनाउन तयार हुनुभएको हो । पीडितका आफन्तले शनिबार बेलुका प्रधानमन्त्री दाहाललाई भेटेर उच्चस्तरीय जाँचबुझ आयोग गठनसहित ८ बुँदे मागपत्र बुझाएका थिए ।
सरकारले मृत्यु भएका दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्