जनता टाइम्स

१६ पुष २०८०, सोमबार १४:३८

दुई साता भैरहवा मुकाम बनाएर के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र शाह ?


भैरहवा, १६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि अघिल्लो आइतबार भैरहवा आउनुभएको छ । साताअघि भैरहवा आएका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त हुनुभएको छ । उहाँले विभिन्न व्यक्तिहरुलाई सामुहिक र एक्लाएक्लै पालैपालो भेटघाट गर्नुभएको छ । एक सातामा उहाँ एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी हुनुभयो । शनिवार उहाँले शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोक कपलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभयो ।

नेपालमै पहिलोपटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो । नेपाल एकीरण गरेर नेपाललाई बिश्वभर चिनाउने काम गरेका शाहको इतिहास सधै सम्झनाको लागि शालिक निमार्ण गरिएको बताइएको छ । यस्तै यही पुस १९ गते भैरहवामा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी छ ।

त्यस्तै १७ गते परासी जाने समितिले जानकारी दिएको छ । पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयन्द्रसहित यहाँ आउनुभएको हो । उहाँ भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा बस्नुभएको छ । बिहान सुरक्षाकर्मी लिएर मर्निङ वाकमा निस्कने गरेका पूर्वराजा १२ गते भैरहवाको भाटभटेनी सुपरमार्केट गएर किनमेल गर्नुभयो । १० गते बुटवलको ड्रिम होटलमा पुगेर बिहानको खाना खानुभएको थियो ।

भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी बृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्ने नागरिक अभिनन्दन समितिका सदस्य सचिव गोपाल शर्माले बताउनुभयो । पूर्वराजा शाहले पालैपालो, एक्लै तथा सामूहिक रूपमा भेट गर्ने गर्नुभएको छ । समितिले भैरहवा पत्रकार सम्मेलन गरि कार्यक्रमबारे जानकारी दिँदासमेत नागरिक अभिनन्दनका संयोजक बस्यालले राजासँग भेटघाट नभएको बताउनुभएको थियो ।

उहाँले स्वागतमा विमानस्थलमा भेट भएको जनाउनुभएको थियो । पूर्वराजासँग अरु व्यक्तिगत तथा सामूहिक रूपमा कुराकानी छलफल गरे पनि सार्वजनिक रूपमा भने केही बोल्नुभएको छैन । निजी सुरक्षा युनिटसहित अनौपचारिक भेटघाटमा उहाँ व्यस्त हुनुहुन्छ । सञ्चारकर्मीहरूसँगको भेटघाटका लागि समितिले प्रस्ताव गरेको छ । १९ गते पछि नै तालिका बन्ने समितिले जनाएको छ ।

भैरहवामा नागरिक अभिनन्दनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको डा. बस्यालले बताउनुभयो । कार्य सम्पादन उपसमिति, प्रचार प्रसार उप–समिति, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन समिति, प्रचार–प्रसार, सुरक्षा, अभिनन्दन तयारी, अनुगमन, संघ—संस्था समन्वय, राष्ट्रिय झण्डा व्यवस्थापन, यातायात तथा जनपरिचालन, स्वंयसेवकउप–समिति गठन गरेको नागरिक अभिनन्दन मुल आयोजक समितिका सदस्य सचिव शर्माले जानकारी दिनुभयो ।