जनता टाइम्स

१६ पुष २०८०, सोमबार १४:४८

बालकुमारी घटनामा तानिए दुई मन्त्री, छानविन गर्न सरकारलाई निर्देशन


काठमाडौं, पुस १६ । दुई युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा दुई मन्त्री छानविनको दायरामा तानिएका छन ।

घटनाका प्रमुख जिम्मेवार रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको भूमिकामाथि छानविन गर्न संसदीय समितिले निर्देशन दिएको हो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज लामो छलफलपछि बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि समितिले कोरियाली भाषा परीक्षा दिन माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्नुपर्ने निश्कर्षसिहत छानविनका लागि निर्देशन दिएको हो ।

‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने’, बैठकमा निर्णय सुनाउँदै सभापति रामहरि खतिवडाले भन्नुभयो ।

पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै शुक्रबार आन्दोलन गरिरहेका थिए । त्यही क्रममा मन्त्री ज्वाला पुग्दा बिवाद भई झडप भएको थियो ।

यसबारे श्रम मन्त्रालयले बेलैमा सूचना नदिएको भन्दै आलोचना भइरहेको छ । त्यस्तै झडप भइरहेको समयमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला आन्दोलनस्थलमा पुगेका कारण तानिनु भएको हो । मन्त्री त्यस क्षेत्रमा पुगेको केहीबेरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको थियो । जस्को कारण दुई जनाको ज्यान गएको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी) बशन्त कुँवरले पनि आजै समितिको बैठकमा बोल्दै बालकुमारी घटना हुनुमा मन्त्री ज्वाला नै दोषी रहेको बताउनु भएको छ । मन्त्री नगएको भए सो घटना नहुने उहाँको भनाई छ ।