काठमाडौं, १६ पुस । सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतक परिवारबीच चार बुँदे सहमति भएको छ । आज गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच भएको छलफलमा चार बुँदे सहमति भएको हो । गत शुक्रबार ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो ।
ज्यान गुमाउनेमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाह रहेका छन् । मृतक परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेकोमा आज मृतक परिवारका सदस्य एक/एक जनालाई रोजगारी दिने सहमतस भएको छ । त्यसका साथै सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने सहमति भएको छ ।
दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुबै जनाको शव परिवारले बुझ्ने सहमति भएको छ । शव सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ । सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो । वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्