काठमाडौं, पुस १७ । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिब्यक्तिलाई लिएर कडा आपत्ति जनाउनु भएको छ ।
प्रधानमन्त्री दाहालले प्रहरीको गोलीबाट दुई युवाको ज्यान गएको ललितपुरको बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने बताएपछि रावलले आपत्ति जनाउनु भएको हो ।
नेता रावलले प्रधानमन्त्री दाहालको सो अभिब्यक्ति बालकुमारीको हत्याकाण्डको घटनालाई अन्तै मोड्ने योजनासहित आएको बताउनु भएको छ । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै दुई युवा मारिएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका गर्नुभएको थियो ।
‘यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीं लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन,’ प्रधानमन्त्री दाहालको जिकिर थियो ।
उहाँको सो भनाईलाई नेता रावलले आपत्ति जनाउनु भएको हो । रावलका अनुसार प्रधानमन्त्रीले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी घटनाको ध्यान अन्तै खिचेर विषय लुकाउने डिजाइन रचेको हुनसक्ने बताउनु भयो ।
‘गिरिजा प्र. कोइरालाले ग्य्राण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइन भएको भनेका छन । कस्तो र कसले गरेको ? प्रधानमन्त्रीले भन्नुपर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रधानमन्त्रीको डिजाइन हुनसक्छ,’ रावलले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्