साँच्चैको प्रतिस्पर्धाभित्र आधारभूत प्रश्नमा मेलमिलाप, लोकतन्त्रको रक्षामा मेलमिलाप, लोकतान्त्रिक गणतन्त्रको प्रश्नमा मेलमिलाप, शान्ति सुव्यवस्था कायम गर्ने कुरामा मेलमिलाप । यी आधारभुत प्रश्नहरुमा मेलमिलाप गरौं । थिति र विधिअनुसार सरकार चल्ने कुरामा मेलमिलाप गरौं
केपी शर्मा ओली
आजकै दिन ४७ वर्ष अगाडि विपि कोइराला भारतको स्वनिर्वासनबाट नेपाल फर्किनु भएको थियो । त्यस दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा सधैं मनाउँदै आएको छ, म धन्यवाद भन्न चाहन्छु । यस दिनको सन्दर्भमा नेपाली कांग्रेस र अरु सबैलाई धेरैधेरै शुभकामना ।
आज अन्तर्राष्ट्रिय सम्वतको पहिलो दिन जनवरी फस्ट । नयाँवर्षको धेरैधेरै शुभकामना सबै साथीहरुलाई, दिदीबहिनी दाजुभाइहरुलाई ।
हामी यहाँ यो दिवस मनाइरहेका छौ । यसको सन्दर्भमा छलफल गरिराखेका छैनौ अथवा छलफल अर्कै कुरा हो, डिभेट अर्कै कुरा हो । यसको अर्थ के हो ? महत्व के हो ? यसको आजको सन्दर्भमा सान्दर्भिकता के हो ? आदि कुराहरुको बारेमा छलफल बेग्लै कुरा हो । आज हामी दिवसलाई मनाइरहेका छौं । त्यसकारण म त्यसै हिसाबले मात्रै बोल्न चाहन्छु ।
नेपाली कांग्रेसले यस दिवसलाई निरन्तरता दिएको छ । राष्ट्रिय एकता दिवस, मेलमिलाप दिवस भनेर मनाउनु भएको छ । विपि कोइरालाजी दुई तीनवटा सन्दर्भमा नेपाल फर्किनु भएको थियो । एउटा राजतन्त्रसमेत भएको एउटा स्वतन्त्र देश सिक्किम अप्ठ्यारो स्थितिमा थियो र त्यो निलिंदै थियो वा भर्खर निलिएको थियो । त्यस स्थितिलाई देखेपछि राष्ट्रियताको रक्षा गर्नुपर्छ भन्ने परिस्थिति पनि बनेको थियो । त्यो अनुभूति भएको थियो । यो एउटा सन्दर्भ थियो । दोस्रो सन्दर्भ त्यसभित्र राजनीतिका अनेक पक्षहरु हुनसक्छन तर विपि कोइरालालाई खासगरी बसिनसक्नु अवस्था बनाएको थियो भारतले । त्यो अर्को कारण थियो । तेस्रो नेपालमा लोकतन्त्रको पूर्णरुपमा अभाव थियो, पुनःप्राप्ति गर्नु थियो । यी अनेक सन्दर्भहरुमा विपि कोइराला त्यति बेला फर्किनु भएको थियो ।
त्यति बेलाको सन्दर्भ मैले भनिरहनु पर्दैन, वास्तवमा त्यो राजासँगैको मेलमिलापको प्रश्न नै थियो । राजासँग नेपाली कांग्रेसको मेलमिलाप वा विपि कोइरालाको मेलमिलापबाट एउटा नयाँ परिस्थिति निर्माण गर्ने कुरा थियो । आज सन्दर्भ परिवर्तन भएको छ, अवस्था परिवर्तन भएको छ, व्यवस्था परिवर्तन भएको छ । त्यसकारण नेपाली कांग्रेसका नेताहरुले आजको सन्दर्भमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अर्थ, महत्व, सान्दर्भिकता र आजको सन्दर्भमा यसलाई कसरी कार्यान्वयन गर्ने हो त ? आजको सन्दर्भमा यसलाई रुपान्तरित गर्ने हो । राजतन्त्र त सकिएको छ । अब जनताबीचको एकता हो ।
हिजो अर्कै सन्दर्भ थियो, आज अर्कै सन्दर्भ छ । यसको व्याख्या नेपाली कांग्रेसले गर्नुपर्छ भन्ने मलाई लाग्छ । अहिलेको स्थिति, अहिलेको परिस्थिति, अहिलेको आफ्नो राज्य सञ्चालनमा सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुंगो फुत्त फालेर कुनै तरंग ल्याउने मेरो इच्छा छैन । त्यसकारण म त्यतापट्टि विल्कुलै जान चाहन्नँ । कुनै अमनचयनमा खलल पनि पार्न चाहन्नँ । त्यस सीमाभित्रै मात्र म बोल्छु ।
विश्वप्रकाश शर्माजीले मेलमिलाप दिवसमा आउने बित्तिकै भाटे कारबाही अग्ला घर किन बनाइस ? कलकत्ता जान गंगाको बाटो किन बनाइस ? ट्रक नै कुदाउनु पर्ने ठाउँमा अम्लेखगञ्जमा पाइपलाइन किन ल्याइस ? बयलगाडा चलाइराखेको थियो, हुलाकी राजमार्ग किन बनाइस ? ८ लाखभन्दा बढी घरहरु त्यत्रो छोटो अवधिमा पुनःनिर्माण गरेर पीडितहरुलाई हस्तान्तरण किन गरिस ? ठूला कुरा गर्ने भनेर उहाँले आफ्नो प्रचलित शैलीमा ललकाल्नु भयो । त्यसको पनि म जवाफ अहिले दिन्नँ । म आज कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिनँ ।
यत्ति हो-लंकेश कहिले कहिले खतरा आउँछ कि के हो भनेर झस्किन्थे । अनि उनका मान्छे आउँथे । लंकेश के छ परिस्थिति अप्ठ्यारो देख्छु भन्छ । होइन, त्यो रामबाहिर दुई चार वटा बादर ल्याएर आएको छ । के गर्छ त्यसले ? हाम्रो यत्रो गठबन्धन छ, कसले के गर्छ ? अनि लंकेश हेर्दाहेर्दा समय नघर्कियोस, मान्छे विदेश गइरहेका छन, विदेश जाने मारिएका छन । मारिए किन ? किनमारिनु पर्यो ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किनजानु पर्यो ?नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्नहरु उठेका छन, तिनको जवाफ के हो ? हुलमा गएर निहुँ खोजेर, उत्तेजित बनाएर, गोली चलाएर, मान्छे मारेर । गोलीमात्रै चलाएको होइन नि, बन्दुकको कुन्दाले यसरी हानेको छ कि मान्छे घुक्रुक्कै मरेको छ ठाउँको ठाउँ ।
यो सहज र सजिलो कुरा हो ? यस्ता परिस्थिति छ् । हुनत आज मैले एउटा मिडिया पढें । सरकारले काम गर्न सकेन भन्दैन, सरकारले किन युवा मार्यो भन्दैन, विदेश हिंडिरहेका युवाहरुलाई रोक्न सरकारले कदम चाल्दैन भन्न सक्दैन । केही भन्दैन । तर भन्छ के भने- सरकार यत्रो नालायकी देखाएर बसेको छ, यो एमाले के हेरेर बसेको छ ? के गरेर बसिराखेको छ ?’ हमला एमालेमाथि छ ! प्रचारको तरिका नि एउटा । मन्त्री झण्डा हल्लाएर जान्छ, त्यहाँ गोली चल्छ । एमाले के हेरेको छ भन्छ ! हामीलाई पूर्वसूचना थियो ? मैले अहिले धेरै केही नभनौ । एकथरी मान्छेहरु छन, राजतन्त्र भयो भने राष्ट्र बलियो हुन्छ । भारतमा लगभग ५ सय ६५ रजौटाहरु, राजाहरु थिए । ती रजौटाहरु हुनुपर्दथ्यो होला नि, ती राज्य हुन्थे होला नि, अहिले पनि हुन्थे होला नि ? राजा हुँदा कायम हुने भए । मैले अघि सुरुमा भनें–सिक्किममा राजासहितको स्वतन्त्र देश थियो । त्यहाँ राजा त थिए । राजा हुँदा देश बच्दो रहेछ ? जनताले हो कि राजाले हो देश बचाउने ?
अर्को कुरा, कुनै पनि कुराको हुनत कतिपय मान्छेहरुले मलाई भन्छन्–हामीलाई यस्तो भन्ने भनेर । जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त, वैज्ञानिक आधार नभएको, तथ्यले पुष्टि गर्न नसक्ने, कुनै तर्कमा आधारित नभएको, तर्कहीन पाखण्डी सिद्धान्त हो । जन्मिंदै शासक हुने सिद्धान्त अन्धविश्वासको पराकाष्टा, पाखण्ड वा जनताको पर्याप्त सचेतनता अभावमा कायम रहेको सामन्तवादको आजको समयमा छ भने त्यो अवशेष हो । त्यो राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्छ । तर, त्यसप्रति एउटा सचेत मान्छेले सिभिलियन सुप्रिमेसी, जनताको सुप्रिमेसी नमानेर व्यक्तिको सुप्रिमेसी सचेत मान्छेले, स्वाभिमानी मान्छेले, स्वाभिमानी नागरिकले कसरी स्वीकार गर्छ ? त्यसकारण राजतन्त्रको बहस नेपालमा आवश्यक नै छैन । यो सिद्धिसक्यो ।
हुन त यो दरवार हत्याकाण्डकै बेला सिद्धिएको हो । हामीले पर्याप्त र उपयुक्र्त कदम त्यतिबेला नचाल्ने कमजोरी गरेको हुनाले अलिकदिन एउटा डमी राजतन्त्र चल्यो । त्यसले तमासा देखायो । अनि हटाउनु पर्यो । संविधानसभाले निर्णय गर्यो, अनि हट्यो । त्यो कुरा भइसक्यो । कुनै प्रोगेसिभ कुरा वाइमिस्टेक गएको भएदेखि हामी फर्कन्थ्यौं होला तर यो त अढाइ सय वर्षसम्म नेपाली जनतालाई चुसेर गरिब बनाउने । अनि त्यो चिजलाई फेरि ल्याउने भन्ने कुरा कही हुन्छ ? राजनैतिक, वैचारिक, दार्शनिक, सैद्धान्तिक कुनै पनि हिसाबले हुँदैन । अर्को अचम्म के भने कस्तो राजा ल्याउन खोजेको ? यी दलहरुले गरेनन्, के यी दलहरुलाई जेलमा हालेर चलाउने एकदम तानाशाह राजा बनाउन खोजेको ?
त्यो होइन भन्छन फेरि । तानाशाह होइन भन्छन । संवैधानिक, सेरमोनियल राजा बनाउन खोजेको भन्छन । सेरमोनियल त रामचन्द्रजी (राष्ट्रपति रामचन्द्र पौडेल) हुँदै हुनुहुन्छ त । अनि त्यो सेरमोनियल राजाले के गर्छ त ? गद्दीमा बसेर ट्वाल्ल हेर्दैमा के गर्छ त ? हेर्ने बाहेक केही गर्ने त होइन सेरमोनियल राजाले । अनि त्यहाँ लगेर राख्ने बित्तिकै के हुन्छ ? राजतन्त्रको यो फाल्तु गफ हो । यो चिहानबाट निकालेर नली खुट्टाको हड्डी फुकेर कहाँ पुग्छौ तिमीहरु ? मैले अस्ति भनेको त्यही हो । कोही कही पुग्नेवाला छैन । राजतन्त्र असान्दर्भिक विषय हो । म नेपाली कांग्रेस र कांग्रेससँगै गठबन्धनलाई पनि भन्नु पर्ला, उस्तैउस्तै हो ।
एकता दिवस मनाउनु भएको छ, एकता गर्नु भएको छ । यो राम्रो कुरा हो । एकता के हो भन्दा हामीले बुझ्नु पर्दछ । हामीले छानेर ल्याएको प्रणाली लोकतन्त्र भनेको प्रतिस्पर्धाको प्रणाली हो । प्रतिस्पर्धाभित्र हामी एकता खोजिरहेका छौं । एकता केमा हुने ? केमा प्रतिस्पर्धा हुने ? प्रतिस्पर्धा स्वस्थ हुनुपर्दछ तर प्रतिस्पर्धा हुनुपर्दछ । प्रतिस्पर्धा कहाँ हुन्छ ? लोकतन्त्रमा मात्रै हुन्छ । त्यसकारण लोकतन्त्रको रक्षा एकताको एउटा सर्त हो । हामी लोकतन्त्रको रक्षाका लागि एक छौं । यसमा कुनै सन्देह छैन । कतिपय सामाजिक सञ्जाल, पत्रपत्रिकाले लेख्छन पनि । तीनवटा नेता भेट भए पनि तिनको टाउको दुख्छ । किन भेटिराखेका छन यी तीन नेता ? यिनीहरुले कही राजतन्त्र ल्याउन नदिने हुन कि क्या हो ? लोकतन्त्र फ्याक्न नदिने हुन कि क्या हो ? यो त डिक्लियर छ त ।
राष्ट्रियताको प्रश्नमा अघि तीन वटा नीतिको कुरा गर्नुभयो, सुशासन, सुशासन, सुशासन भनेर । हो, सुशासनमा सहमति गरौं । विकासमा सहमति गरौं । सामाजिक न्याय र समानताका कुरामा सहमति गरौं । हाम्रा संस्थाहरु कोही सरकारमा हुनेका वा हुँदाका निजी सम्पति होइनन, साझा सम्पति हुन । त्यसकारण आफूले खुरुखुरु आफ्ना मान्छे भर्ना गर्दा त्यो निष्पक्ष भयो भन्ने ? अर्काको भर्ना गर्न पर्यो भने भागबण्डा भन्ने ? त्यो हुँदैन । कि राजनीतिक मान्छे भर्ना नै नगरौं, आफन्त भर्ना नगरौं कि उपयुक्र्त ढंगले योग्य मान्छे अन्त पनि होलान, मिलाएर भर्ना गरौं । साँच्चै योग्य मान्छेको खुल्ला प्रतिस्पर्धा गराऊँ न । छलछाम नगरौं ।

हाम्रो कपाल त्यतिकै फुलेको छैन । हामी राजतन्त्र फर्किन दिंदैनौ, त्यो कुरा त एकदम खुलस्त छ । हामी तानाशाही आउन यस देशमा दिंदैनौं । कुनै पनि अनडेमोक्रेटिक सिस्टम यहाँ हुँदैन, नेपाल माडेमोक्रेसी मात्रै हुन्छ । त्यसकारण लोकतान्त्रिक गणतन्त्र यस प्रश्नमा हामी एक छौं । शान्तिको प्रश्नमा हामी एक छौ/हुनुपर्दछ । सुशासनको प्रश्नमा हामी एक छौं/हुनुपर्दछ । विकाशको प्रश्नमा हामी एक छौं/हुनुपर्दछ । नेपाली कांग्रेसको नीति के हो ? एकतले घर मात्रै बनाउने हो ? मैले नबुझेको नि ! झन जमिनको किफायती गरौं, थोरै जमिनमा अलि धेरै तला भएको नभत्किने गरी घर बनाऔं, एउटै घरमा थुप्रै कारोबार चलोस र जमिनको किफायत होस् ।
दमकमा अग्लो भएको हुनाले टावर भनेको हो । टावर हेर्नका लागि वरिपरी घुमेर जाने चार पाँचतलाको त्यो त्यस्तो टावर होइन । त्यो विजनेश घर हो । त्यस घरभित्रदुई चारवटा क्याम्पस अटाउँछन, दुई चारवटा अस्पताल अटाउँछन् । त्यसले त्यहाँ अहिलेसम्ममा कति मान्छेलाई रोजगारी दियो ? कति मनि ट्रान्नजेक्शन भयो ? कतिले कामपाए ? त्यतापट्टी म नजाऔ । तर, हामी पुरानै सोचमा होइन, एउटा सन्दर्भमा विपिले भन्नुभयो, एउटा घर, एक हल गोरु, एउटा लैनो गाई । त्यो एउटा परिस्थितिमा भन्नुभयो । त्यही कुरा होइन । अब भोलि गएर हामीले थलोमा एउटा गाई, काठमाडौंमा विस्कुट बिक्छ, यो कुरा बिक्दैन । यहाँ त एउटा घरमा एउटा गाडी, एउटा ग्यारेज भन्नुपर्छ । जमाना त्यता गइसक्यो । बाटामा नहान्ने गरी गाडी भइसके ।
विपि कोइरालाले त्यसबेला ह्याण्ड टु माउथका लागि भन्नुभयो । अब ह्याण्ड टु माउथ भनेको १५ प्रतिशत जनताको समस्या हो, ८५ प्रतिशतको समस्या होइन । निरपेक्ष गरिबीको रेखामुनी १५ प्रतिशत जनता छन । ८५ प्रतिशत छैन । ८५ प्रतिशतको कुरा पनि हामीले गर्नुपर्छ । ८५ प्रतिशतलाई लिएर त्यो १५ प्रतिशतको गरिबी हटाउनु पर्छ । औधोगिकरण गर्नुपर्दछ, कृषिको आधुनिकीकरण गर्नु पर्दछ । हामी एकताबद्ध भएर यी कुराहरुमा अगाडि बढ्नु पर्दछ । अनि काम गर्यो भने पनि खिसिट्युरी, नगरे पनि उस्तै । त्यस्तो होइन, हामीले छुट्याउन सक्नु पर्दछ ।
हामी राष्ट्रियताका सवालमा हाम्रा पुर्खाले लडेर यो देश बनाएर बचाए पनि । आज त्यसरी लडेर बचाएको स्वाभिमानप्रति हामी गर्व गर्न सक्दैनौ, त्यसको रक्षा गर्न सक्दैनौ । हाम्रा पुर्खाहरुले तोपका अगाडि खुकुरी नचाएर लडेका थिए । तोपसँग खुकुरी जुधाउँथे । अहिले हामी आखाँ पनि जुधाउन सक्दैनौ । आखाँ जुधाएर कुरा गर्न सक्दैनौ, के भएको ? आखाँ जुधाएर हामी अरुलाई हेप्ने भन्दैनौ तर नहेप्ने नीतिमा, अरुमाथि अन्याय कहिल्यै पनि गर्ने सोच्दैनौ तर आफू अन्यायमा नपर्ने, अरुलाई नहेप्ने, आफू नहेपिने, अरुको सार्वभौमसत्तालाई सम्मान गर्ने, हाम्रो सार्वभौमसत्ताप्रति पनि हामीलाई गर्व छ । अरुले पनि मान्नु पर्छ ।
यसो भन्दा अर्गेल्याइँ कहाँ हुन्छ ? हाम्रो मिचिएको जमिन फिर्ता ल्याउनु परेन ? १८१६ मार्चबाट मिचिएको जमिन, हामीले पाएको जमिन १९६२ मा आएर १४६ वर्षपछि चीन–भारत द्वन्द्वका बेला भारतले फौज ल्याएर राख्यो । घाँटी परेका ठाउँमा ल्याएर राख्यो, त्योभन्दा बोटलनेक हामी जान सकेनौं/पाएनौं । हाम्रो जमिन अकुपाइड भयो । यथार्थ त्यो हो, त्यो पनि भन्न नसक्ने ? अर्को कुरा म के विश्वास गर्छु भने–भारत हाम्रो मित्रहो । मित्र भनेपछि हामीले कुरा गर्न सक्नुपर्छ । मित्र हो भने मित्रसँग कुरा गर्न सक्नुपर्छ, आफ्नो मनका खुलेर भन्नुपर्छ । यो मर्का पार्न पाइँदैन मित्र भन्न सक्नुपर्दछ । अनि अन्कम्र्फटेवल ढंगले कुरा गर्छ, त्यसकारण कम्र्फटेबल हुने कम्पिटिशन नगरौं न । राष्ट्रिय स्वार्थको रक्षाका लागि प्रतिस्पर्धा गरौं, कम्र्फटेवलिटीमा होइन ।
राष्ट्रियताको प्रश्नमा अघि तीन वटा नीतिको कुरा गर्नुभयो, सुशासन, सुशासन, सुशासन भनेर । हो, सुशासनमा सहमति गरौं । विकासमा सहमति गरौं । सामाजिक न्याय र समानताका कुरामा सहमति गरौं । हाम्रा संस्थाहरु कोही सरकारमा हुनेका वा हुँदाका निजी सम्पति होइनन, साझा सम्पति हुन । त्यसकारण आफूले खुरुखुरु आफ्ना मान्छे भर्ना गर्दा त्यो निष्पक्ष भयो भन्ने ? अर्काको भर्ना गर्न पर्यो भने भागबण्डा भन्ने ? त्यो हुँदैन । कि राजनीतिक मान्छे भर्ना नै नगरौं, आफन्त भर्ना नगरौं कि उपयुक्र्त ढंगले योग्य मान्छे अन्त पनि होलान, मिलाएर भर्ना गरौं । साँच्चै योग्य मान्छेको खुल्ला प्रतिस्पर्धा गराऊँ न । छलछाम नगरौं ।
मैले उहिले एकपटक यही मञ्चबाट बोल्दा भनेको थिएँ–हामी सानो हुँदा यस्सो थुक लगाउँथे हातमा अलिक ठूलाहरुले । औलामा लगाएको थुक पल्लो औलामा छ होइन भन्यो ? हो भन्यो । अनि छेउको औला लुकाएर अर्को औला उठाएर फुत्तफुत्त सार्ने र वल्लापट्टी र पल्लापट्टी देखाउने । यस्तो नगरौं न । एउटै कुरा गरौं न । औला स्याट्ट यताको लुकायो, फेरि उताको उठायो । त्यस्तो तर्क होइन, एउटै तर्क गरौं, मेलमिलाप गरौं । साँच्चैको प्रतिस्पर्धाभित्र आधारभूत प्रश्नमा मेलमिलाप, लोकतन्त्रको रक्षामा मेलमिलाप, लोकतान्त्रिक गणतन्त्रको प्रश्नमा मेलमिलाप, शान्ति सुव्यवस्था कायम गर्ने कुरामा मेलमिलाप । यी आधारभुत प्रश्नहरुमा मेलमिलाप गरौं । थिति र विधिअनुसार सरकार चल्ने कुरामा मेलमिलाप गरौं । आज धेरै मतभेदजन्य कुरा गर्न त मिलेन । त्यसकारण म शुभकामना भन्न चाहन्छु, यस दिवसले हामीलाई यथार्थ मेलमिलापतर्फ अगाडि बढ्न प्रेरित गरोस । धन्यवाद !
(एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय मेलमिलाप तथा एकता दिवस (१६ पुस, २०८० ) मा गर्नुभएको सम्बोधनको पूर्णपाठ)













प्रतिक्रिया दिनुहोस्