जनता टाइम्स

२९ पुष २०८०, आईतवार १८:५७

छोरी गंगासहित प्रधानमन्त्री प्रचण्ड माघ ४ मा युगान्डा जाने


काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन नामक १९औं शिखर सम्मेलनमा भाग लिन माघ ४ गते युगान्डा जानुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको युगान्डा भ्रमणबारे औपचारिक जानकारी गराएको हो । शिखर सम्मेलनमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनुहुनेछ । असंलग्न आन्दोलनको शिखर सम्मेलन माघ ५ र ६ गते युगान्डामा हुँदैछ ।

शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको साथमा उहाँकी छोरी गंगा दाहाल पनि जाने परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको नेतृत्वमा युगान्डा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी समेत रहनेछन् ।

प्रधानमन्त्री प्रचण्डले माघ ५ गते शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । माघ ५ गते नै प्रधानमन्त्री प्रचण्ड युगान्डाका राष्ट्रपति योवेरी कागुटा मुसेभेनीले शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । शिखर सम्मेलनअघि माघ ३ र ४ गते मन्त्रिस्तरीय बैठक बस्नेछ।

शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री साउदले गर्नुहुनेछ । परराष्ट्रमन्त्री साउद माघ २ गते युगान्डा प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड माघ ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।