जनता टाइम्स

२९ पुष २०८०, आईतवार २०:०३

ताइवान चीनकै अभिन्न अङ्ग हो, स्वतन्त्रताको विपक्षमा छौं : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ । चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो,‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।’ नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो,‘यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।’

आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो,‘ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।’

चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उहाँले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताउनुभयो । प्रधानमन्त्रीले संस्कृतिक सम्बन्धको गतिलो उदाहरणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गर्नुभएको छ ।

आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको उहाँले स्मरण गर्नुभयो ।