काठमाडौं, माघ १ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि संस्दमा रहेका राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।
माघीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित संसदमा उपस्थित दलका नेताहरुलाई शीतल निवासमा बोलाएर छलफल गर्दै राष्ट्रपति पौडेलले यस्तो ध्यानाकर्षण गराउनु भएको हो । छलफलमा उहाँले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको धारणा राख्नुभयो ।
‘मैले यहाँ आएर धेरै विदेशीहरूसँग पनि कुराकानी गरेको छु । यति अधिकार दक्षिण एसियाका मुलुकको तुलनामा कम होला । यतिधेरै जनताले अधिकार पाएको संविधानलाई सबैले प्रशंसा गरेका छन । यसलाई व्यवहारमा ल्याउनुपर्यो,’ छलफलको क्रममा राष्ट्रपति पौडेलले भन्नुभयो, ‘संविधानले जनतालाई जे अधिकार दिएको छ त्यो सार्थक हुनुपर्यो । त्यसका लागि कानून बनाउनुपर्ने छ । त्यो काम चाँडो गर्नुपर्यो ।’
राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेका विषयलाई कानूनद्वारा व्यवस्थित गर्न आवश्यक रहेको तथ्य पनि औल्याउनु भएको छ । ‘त्यो कानून निर्माण छिटोभन्दा छिटो गर्नुपर्छ । संविधान कार्यान्यान्वयमा जाऔं । जनताको निराशामा आशामा परिणत गरौं,’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यो संविधानलाई कार्यान्वयन नगरेर अहिले निराशा बढेको हो । जनताले पछाडि फर्किन चाहेका छैनन् मैले बुझेको छु । जनताले अगाडि बढ्ने चाहना राखेका छन ।’
प्रतिक्रिया दिनुहोस्