जनता टाइम्स

२ माघ २०८०, मंगलवार १३:२६

रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु


काठमाडौं, २ माघ । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभयो।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उहाँका भाइ कुमार गुरुङलाई उक्त खबर पठाउनुभएको थियो ।

जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उहाँले बताउनुभयो । गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बन्नुभएको थियो । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उहाँ रुसी सेनामा पुग्नुभएका थियो । उहाँको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।