सुनसरी, माघ ३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ ।
धरानमा आज आयोजित एक कार्यक्रमबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्रि केसीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गर्नुभयो । सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस हस्तान्तरण गरिएको हो ।
ब्लड बस हस्तान्तरणमा मुख्यमन्त्री कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताउदै समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न प्रस्ताव गर्नुभयो ।
गैरआवासीय नेपाली संघले देशमा अफट्यारो परेको बेला सहयोग गरेको स्मरण गर्दै विदेशमा रहेका नेपालीहरुबीच एकतामा हुनुपर्ने र युरोप, अमेरिकामा बस्ने नेपालीहरु र मध्येपूर्वका देशमा बस्ने नेपालीबीच मतभेद हुन नहुने उहाँको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरु सक्रिय रहेको बताउनु भयो । विदेशीहरुको लगानीभन्दा गैरआवासीय नेपालीहरुको लगानी दिगो हुने अध्यक्ष डा। केसीको भनाइ थियो । उहाँले कोशी प्रदेशको समृद्धिको लागि संघले पूर्वाधार लगायतका क्षेत्रमा गैरआवासीय नेपाली संघ सहकार्य गर्न तयार रहेको बताउनु भयो।
कार्यक्रममा संघका उपाध्यक्ष डा. हेमराज शर्माले स्थापनाकालदेखि संघले १ अर्ब भन्दा बढीको परोपकारी कामको गरेको जनाकारी दिनुभयो । शर्माले संघले हस्तान्तरण गरेको बसले सडक दुर्घटनामा परेका नेपालीहरुको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने बताउनु भयो ।

उहाँले गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा भित्र्याउन सक्रिय रहेको बताउनु भयो । शर्माले गैरआवासीय नेपाली संघले नेपालमा लगानी, परोपकारी काम र विदेशमा बस्ने नेपालीहरुको हकहितको लागि आवाज उठाउने तीन मुख्य मुद्धालाई पिल्लरको रुपमा लिएर सोही दिसामा काम गर्दै आएको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधानले गैरआवासीय नेपाली संघले हस्तान्तरण गरेको मोबाइल ब्लड बसले मानिसहरुको ज्यान बचाउन महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
कार्यक्रममा संघका केन्द्रीय पदाधिकारीहरु, सल्लाहकारहरु अभियन्ता, प्रदेश सांसद, राजनीतिक दलहरुका प्रतिनिधि, धरान उपमहानगरपाललिकाका जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । गैरआवासीय नेपाली संघले लुम्बिनी र मधेश प्रदेशमा समेत मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्