जनता टाइम्स

६ माघ २०८०, शनिबार १९:३३

माधवमाथि लाग्यो पैसामा टिकट बेचेको आरोप


काठमाडौं, माघ ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि पैसा लिएर राष्ट्रियसभा सदस्यको टिकट दिएको आरोप लागेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एसका अध्यक्ष नेपालमाथि बागमति प्रदेशबाट टिकट बितरण गर्दा पैसा लिएको आरोप लागेको हो । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट बागमति प्रदेशमा नेकपा एसले दलित कोटाबाट उम्मेदवारी पाएको छ । सोही सहमतिअनुसार नेकपा एसले दोलखाका घनश्याम रिजाललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको हो ।

उनै रिजाललाई सांसद र राज्यमन्त्री बनाउने भनेर नेपालले २ करोड रकम असुली गरेको आरोप नेकपा एसभित्रकै केही नेताले लगाएका हुन । सुन ब्यवसायी रिजाल आर्थिक रुपमा सम्पन्न हुनुहुन्छ ।  यो बिषय अहिले आर्थिक मामिलामा निश्कलंक माधव नै बिके भन्दै सो पार्टीमा भुसको आगो जसरी फैलिएको छ ।

नेकपा एकीकृत समाजवादीका एक नेतालाई नै कांग्रेस नेताहरुले माधवले पैसाका लागि टिकट बार्गेनिङ गरेको सूचना दिएपछि यस्तो आरोप लागेको बताइएको छ ।

स्रोतका अनुसार कांग्रेस र माओवादीका केही नेताहरुले माधवले बागमतिमा दलित कोटाबाटै राष्ट्रियसभा सदस्यको टिकट चाहिने अडान सत्ता गठबन्धनको बैठकमा राख्नुभएको थियो ।

कांग्रेस र माओवादीका दलित नेताहरु बागमतिमा दलित कोटा किन छाडेको भन्दै नेतृत्वसँग आक्रोश पोखेपछि दुवै दलका नेताले बागमतिमा जसरी पनि दलित कोटा चाहिने अडान माधवले राखेको कारण छाडन बाध्य भएको जवाफ दिएपछि माधवमाथि आर्थिक लेनदेनमा टिकट बिक्रि गरेको आरोप लागेको हो ।