काठमाडौं, माघ १२ । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला एकाएक सडकमै भासिएको हो ।
स्थानीय प्रत्यक्षदर्सीले जनताटाइम्स डटकमलाईदिएको जानकारी अनुसार सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको थियो । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो । आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ ।
दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ । त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका बिभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको थियो । प्रहरीका अनुसार ह्युम (ढल) पाइपबीच अन्तर (ग्याप) हुँदा सडक भासिएको पाइएको छ ।
शुक्रबार बिहान गुडिरहेको बस एक्कासि सडकमा भासिएपछि महानगरपालिका टोलीले डोजर प्रयोग गरेर सडक खनेको थियो । सडक खन्दा बानेश्वर चोकबाट माइतीघर तर्फको सर्भिस लेनतर्फको सडकमुनि राखिएको ह्युम पाइप बीच ग्याप देखिएको हो ।













प्रतिक्रिया दिनुहोस्