जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार २२:०५

सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि ऐन, नियम उत्कृष्ट, कार्यान्वयन पक्ष फितलो, क्षयरोगको दोस्रो प्रमुख कारण चुरोट


काठमाडौं, १२ माघ । क्षयरोग (टीबी) को दोस्रो प्रमुख कारण चुरोटसेवन रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठका अनुसार नेपालमा क्षयरोगको कारणमा कुपोषण, चुरोट, मधुमेहका बिरामी र मद्यपान र एचआइभी संक्रमित क्षयरोगको जोखिममा छन् । उहाँले नेपालमा वर्षेनी १७ हजार मानिसको मृत्यु क्षयरोगका कारण हुने गरेको बताउँदै वर्षमा ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेको पनि तथ्य उल्लेख गर्नुभयो ।

आज काठमाडौंमा आयोजित इन्ड टीबी, इन्ड टोबाको विषयक अन्तरक्रिया कार्यक्रममा डा. श्रेष्ठले क्षयरोगबाट सबैभन्दा बढी उत्पादनशील समूह १५ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिहरु बिरामी हुने गरेको बताउनुभयो । नेपालमा सबैभन्दा धेरै मधेश, बागमती र लुम्बिनी प्रदेशमा क्षयरोगका बिरामी रहेको जानकारी दिँदै यी स्थानहरुबाट मास स्क्रिनिङको कार्यक्रम सुरु गर्नपर्नेमा जोड दिनुभयो । हाल लक्षण देखिएका व्यक्तिहरुमा मात्रै स्क्रिनिङ हुँदै आएको बताउँदै उहाँले यदि डिजिटल एक्सरेमार्फत जोखिममा रहेको÷नरहेका सबैलाई स्क्रिनिङ गर्न सके क्षयरोग नियन्त्रण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा विश्वमा टोबाको तथा टीबी नियन्त्रणका क्षेत्रमा काम गर्दै आइरहेको इन्‍टरनेशनल युनियन अग्नेस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज (द युनियन) का प्रेसिडेन्ट प्रोफेसर गाइ मार्क्सले धेरै भन्दा धेरैमा टीबी टेस्ट गर्न जरुरी रहेको बताउनुभयो । त्यस्तै उहाँले कुनै पनि स्थानको कुनै पनि व्यक्ति क्षयरोगको जोखिममा रहेकाले टीबी नियन्त्रणका लागि मास स्क्रिनिङ प्रभावकारी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘स्क्रिनिङका लागि जोखिम समूह र लक्षण देखिएकालाई मात्रै खोज्ने होइन, जोखिम नभएकालाई पनि स्क्रिनिङ गर्नपर्छ त्यसबाट मात्रै टीबी नियन्त्रणमा आउँछ ।’

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नसर्ने रोगको भारमा सुर्तिजन्य पदार्थको प्रयोग पनि प्रमुख कारण रहेको बताउँदै नियन्त्रणका लागि निरन्तर प्रयासको जरुरी रहेको बताउनुभयो । सूर्तिजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न परिवारदेखि विद्यालय स्तरसम्म सचेतनामूलक कार्यक्रमको खाँचो रहेको देवकोटाको भनाइ छ । उहाँले भन्नुभयो,‘अहिले स्वास्थ्यको ३५ प्रतिशत उपचारका लागि खर्च भइरहेको छ । सरकारका तीन तहमध्ये आम जनतासँग प्रत्यक्ष सम्बन्ध रहेको स्थानीय तहले उपचारमै जोड दिएका छन् । टीबी नियन्त्रणका लागि ती पालिकाले समुदायस्तरकै जाँचमा लाग्नुपर्छ ।’

भाइटल स्टार्टेजी द युनियनका निर्देशक डा. तारासिंह बमले टीबी भएको १०० दिन भन्दा पछि मात्रै एउटा केस पत्ता लागिरहेको बताउँदै यसबाट समाजमा टिबी कसरी सरिरहेको छ भन्ने जान्न सकिने बताउनुभयो । सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा टीबी हुँदा अझ ढिलोगरी जाँच केन्द्रमा पुग्ने उहाँले बताउनुभयो । सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि नेपालमा बनेका ऐन नियम विश्वकै उत्कृष्ट भएपनि कार्यान्वयनको पक्ष निकै फितलो रहेको बमले बताउनुभयो । मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले सरकारले सूर्तिजन्य पदार्थ र टीबी नियन्त्रणका लागि छुट्टै कानुन निर्माण गरिकसकेको बताउनुभयो । ती कानुन कार्यान्यवनका लागि मन्त्रालय आफैंले पहल गरिरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका भक्त केसीले सुर्तीजन्य पदार्थ उत्पादन कम्पनीहरुले अदालतमा मुद्दा हाल्ने, स्थानीय सरकारले गरेको केही नवीनतम कार्यक्रमहरुको बिरुद्धमा अदालतमा मुद्दा हाल्ने र सुर्तीजन्य पदार्थका नयाँ–नयाँ उत्पादनको बजारीकरणले गर्दा सूर्तिजन्य पदार्थको नियन्त्रणमा चुनौती यथावत रहेको बताउनुभयो । आयोजक संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले टीबीका केसहरु बढिरहेको बताउनुभयो । उहाँले क्षयरोगका विरामी बढ्नुमा सूर्तिजन्य पदार्थ प्रयोग गर्नेको संख्यामा कमी नआउनु कारण पनि रहेको बताउनुभयो ।