जनता टाइम्स

५ आश्विन २०७६, आईतवार १२:५८

बैंक अफ काठमाडौंका पूर्वसिइओसहित पाँच कर्मचारी पक्राउ


काठमाडौं, असोज ५ । बैंकिङ ठगी अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) ले बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित पाँच जनालाई पक्राउ गरेको छ । सिआइवीले पूर्वसिइओ श्रेष्ठसहित बैंकका कर्मचारीहरु किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।

नक्कली जग्गाधनी प्रमाणपत्र राखेर बैंकबाट ५ करोडभन्दा बढी रकम निकालेको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । केही समय अघि मात्रै नक्कली कागजपत्रका आधारमा कर्जा प्रवाह गरी बैंक अफ काठमाण्डूमा डेढ करोड रुपैयाँ अनियमितता भएको तथ्य खुलेको थियो । छानविनको प्रारम्भमै प्रहरीले बैंक ठगी गर्ने सुरेन्द्र श्रेष्ठ र भूपेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । सो प्रकरणमा मुछिएका बैंकका पूर्वसिइओ श्रेष्ठ पनि पक्राउ परेका हुन ।

प्रहरीका अनुसार सस्तो मूल्यको जग्गा धितोमा राखी महँगो जग्गा भएको भनेर कागजपत्र बनाई कर्जा प्रवाह गरी अनियमितता भएको हो । ‘खोलाछेउको जग्गालाई राजमार्गछेउको जग्गा भएको भनेर झुक्याई कर्जा लिएरदिएको देखिन्छ,’ सिआइबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भन्नुभयो ।

प्रहरीका अनुसार सो बैंकको कमलादी शाखाबाट कर्जामा अनियमितता भएको हो । ऋणीले कर्जा नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएपछि मात्र एउटा भनेर अर्काे जग्गा धितोमा राखिएको तथ्य खुलेको थियो । कर्जा दिने वेला धितो मूल्यांकनको जिम्मेवारी धितो मूल्यांकनकर्ताको हुने गर्दछ । सोहीअनुसार कर्जा शाखाका कर्मचारीले अध्ययन गर्छन । तर, यो प्रकरणमा चलखेलका आधारमा कर्जा दिइएको प्रहरी आशंका छ । धितो मूल्यांकनकर्ता र कर्जा शाखाका कर्मचारीको मिलेमतोकै कारण बैंकमा अनियमितता भएको थियो ।