जनता टाइम्स

५ आश्विन २०७६, आईतवार १३:३८

जितीया पर्वमा राष्ट्रपति भण्डारीको शुभकामना : शान्ति, समृद्धि, एकता र सद्भाव कायम होस


काठमाडौं, असोज ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरुको विशेष पर्व जितीयाको अवसरमा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज दिनुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली नारीहरुको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उहाँले यस्ता चाड पर्वले मुलुकको एकता बलियो बनाउन सहयोग पुग्ने बिश्वास पनि ब्यक्त गर्नुभएो छ । ‘नेपाली मौलिक साँस्कृतिक सम्पदाको सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक छ । नारीहरूको महत्वपूर्ण जितीया पर्वसँगै सबै नारीहरुमा सामाजिक, साँस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

जितीया पर्वमा विशेषगरी हिन्दू थारु समुदायका नारीहरुका साथै मैथिल नारीहले यो पर्व मनाउने गर्छन् । परिवारजनको सुस्वास्थ एवम् समृद्धिको कामना गर्दै ब्रत बसेर पूजा आराधना गर्ने प्रचलन रहेको छ ।